अस्ताए स्याउ खेतीका धरोहर बुद्धिरत्न

सुन्दरकुमार थकाली, जोमसोम

मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङ पुख्र्यौली घर भई लामो समय देखि काठमान्डौ महानगर पालिका—३१ पुरानो बानेश्वर बसोबास गर्दै आईरहेका मुस्ताङका स्याउ बाजे बुद्धिरत्न शेरचनको बिहिबार साँझ काठमान्डौंमा निधन भएको छ । बि.स. १९९६ सालमा मुस्ताङको कोवाङमा जन्मिएका स्याउ बाजे शेरचनको ८३ वर्षको उमेरमा निधन भएको परिवार श्रोतले जनाएको छ ।

मुस्ताङको अनुकुल हावापानीमा स्याउ फलाउन सकिन्छ भन्ने आत्मविश्वाशसहित स्याउ बाजे शेरचनले मुस्ताङमा पहिलो परीक्षणका रुपमा खेती सुरुआत गरेका थिए । २०२८ को दशक अघि हिमाली जिल्ला मुस्ताङमा स्याउ खेती गर्ने प्रचलन थिएन ।

उनैको पहलमा मुस्ताङमा स्याउ खेती सुरु भएको थासाङ—१ टुकुचेका समाजसेवी पथबहादुर थकालीले जानकारी दिए । उनका अनुसार शेरचनकै योग्यता र बिज्ञताको पहलसंगै मुस्ताङमा स्याउ खेतीले पूर्णता पाएको हो । करिव २०२८ सालको सेरोफेरोमा शेरचनले मुस्ताङमा पहिलो स्याउ खेती भित्र्याएकाले उनलाई स्याउ बाजे भन्ने गरिएको उनले उल्लेख गरे ।

स्याउ बाजे शेरचनकै पहलमा २८ को दशक अघि मुस्ताङको मार्फामा फलफुल तथा तरकारीको कृषि फार्म स्थापना गरिएको थियो । उनकै पहलमा स्थापना भएको फार्ममा उनी पहिलो संस्थापक भएर जिम्मेबारी निभाएको उनका भतिजा सुधिर शेरचनले बताए ।

स्याउ बाजे शेरचनले त्यससमय मुस्ताङमा स्याउ खेतीसहित ओखर ,खुर्पानी र आरुबखडा लगायतको फलफुल खेती सुरु गरेका थिए । स्याउ बाजे शेरचनले फार्ममा परीक्षण स्वरुप स्याउ लगायतका फलफुल खेती सुरु गरेपछि मुस्ताङका स्थानीय किसानले त्यसलाई पछ्याउन थाले । फार्ममा शेरचनले परीक्षणका लागि लगाईएका स्याउ बोटमा लटरम्म स्याउ फलेको देखिपछि स्थानीय स्याउ खेती तर्फ आर्कर्षित हुन थालेकोे बताईन्छ ।

हिमाली जिल्ला मुस्ताङलाई पछिल्लो समय स्याउको राजधानी स्थापित गर्न महत्वपूर्ण योगदान पू¥याएका स्याउ बाजे शेरचनले मार्फा शितोष्ण वागवानी विकास केन्द्र मार्फमा ३२ वर्षसम्म सेवा गरेको पूर्व सांसद शुशिलमान शेरचनले जानकारी दिए । लामो समय देखि फार्ममा कार्यरत शेरचन त्यसपछि जागिरे जिवन छोडेर अवकाश लिदै काठमान्डौंमा बस्न थाल्ने । स्याउ बाजे शेरचन काठमान्डौं बसेपनि उनको चिन्ता र चासो मुस्ताङको स्याउ खेतीतर्फ हुन्थ्यो । उनी स्याउ खेतीको हालखबर बुझ्न मुस्ताङ आईरहन्थे ।

भौगोलिक रुपले विकट र सडक संञ्जालको पहँुच नहुँदाको अवस्थामा मुस्ताङमा स्याउ खेती बिस्तार संम्भावना निकै चुनौतीपूर्ण मानिन्थ्यो । स्याउ बाजे शेरचनले फार्मको कामकाज देखी स्थानीयको घरदैलोमै पुगेर स्याउ खेती गर्ने तरिका सिकाउथे ,कृषकहरुसंगै रमाउथे । स्याउ बाजे शेरचनकै योगदानका कारण मुस्ताङ जिल्ला स्याउ खेतीतर्फ आत्मनिर्भर बनेको छ । पछिल्लो समय मुस्ताङका ५ वटै स्थानीय तहमा स्याउ खेती खेती गरिएको छ ।

मुस्ताङको मुख्य ब्रान्डको रुपमा स्थापित स्याउ खेतीको स्वदेश तथा विदेशमा उक्तिकै माग हुने गर्छ । स्याउ बाजे शेरचनले जग स्थापित गरेको स्याउ खेती अहिले त्यसको ४ दशकपछि मुस्ताङले झन्डै ७० करोडसम्म स्याउ उत्पादन हुने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *