नेपाल छिर्याे मनसुन, भारी वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौं

नेपालमा शुक्रबार मनसुनी वायु प्रवेश गरेको छ । पूर्वी नेपाल हुँदै मनसुन शुक्रबार नेपाल पसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुन प्रदेश १, २ र वागमतीमा फैलिइसकेको छ भने एक–दुई दिनमै देशभरि फैलिने छ ।

यसपालिको मनसुन औसतभन्दा २ दिनअघि नै नेपाल आएको हो । पछिल्लो समय नेपालमा मनसुन आउने मिति जुन १३ तय भएको छ । ‘आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।

जुन ३ मा भारतको केरला आइपुगेको मनसुन नेपाल आइपुग्न १० दिनजति लाग्ने अनुमान गरिएको थियो । तर उत्तरपूर्वी भारतमा नै चार–पाँच दिन पहिलानै मनसुन आइपुगेकाले नेपालमा पनि अलि छिटो नेपाल पुगेको हो । जल तथा मौसम विभागको हावापानी विज्ञान महाशाखाले यसपालिको नेपालमा औसतभन्दा बढी वर्षा हुने बताएको छ ।

महाशाखाकी प्रमुख इन्दिरा कँडेलका अनुसार दक्षिण एसियाली मुलुकका मौसमविद् र वैज्ञानिकहरूको भेलाबाट हरेक वर्ष यो क्षेत्रमा कस्तो मनुसुनी गतिविधि हुन्छ भन्ने आँकलन गरिन्छ ।

‘सबै ८ देशका मौसमविदसँगै उक्त भेलामा अरू देशका पनि मौसमविद् र वैज्ञानिकहरू सहभागी हुन्छन् । त्यहाँ सबैले आ–आफ्नो देशमा कस्तो मनसुनी गतिविधि हुन सक्छ भनेर कुरा राख्छन्,’ कँडेलले भनिन्, ‘त्यसपछि यो क्षेत्रमा कुनै वर्षको मनसुन कस्तो हुन्छ भन्ने पूर्वानुमान सार्वजनिक गरिन्छ ।’

यसपालि उक्त भेला भर्चुअल रूपमा भएको थियो । महाशाखाका अनुसार यसपालि मनसुनमा नेपालमा सरदरभन्दा बढी वर्षा हुनेछ ।

‘आगामी मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थानहरुमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू–भागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५–६५ प्रतिशत छ । गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी भू–भागमा सरदर वर्षा हुने सम्भावना छ ।

नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत छ । त्यसैले नेपाली अर्थतन्त्रको वृद्धिदर धेरै हदसम्म मनसुनले नै निर्धारण गर्छ । मनसुन समयमै आए बालीनाली सप्रिन्छ । खाद्यान्न उत्पादन बढ्छ । त्यसले देशको कुल ग्राहस्थ उत्पादन बढाउँछ ।

मनसुनले बालीनालीको उत्पादकत्वमात्र बढाउँदैन धेरै पानी पर्दा कुलेखानीजस्ता बाँधयुक्त आयोजनामा पानी भरिन्छ । रनअफ दी रिभरमा चल्ने आयोजनामा पनि बिजुली धेरै निस्कन्छ । बिजुली भयो भने कलकारखानाले धेरै उत्पादन गर्छन् । अर्थतन्त्र चलायमान हुन्छ ।

नेपालमा पानी पार्ने मनसुन जुन महिनाको दोस्रो साताबाट सुरू हुन्छ । मौसम विभागले पछिल्लो तीस वर्षको तथ्यांकलाई आधार मानेर नेपालमा सरदर मनसुन आउने मिति जुन १० लाई मानेको छ । नेपालमा हिउँदका छ महिना पश्चिमी वायूको दबदबा हुन्छ । पश्चिमी वायू उत्तर नसरेसम्म मनसुनको केही चल्दैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *