पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड ७५ लाख

आदर्श अनलाइन, पोखरा
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ६ अर्ब २७ करोड ७५ लाखको बजेट प्रस्तुत गरेको छ । महानगरको नवौं नगरसभामा आज महानगर पालिकाकी उपप्रमूख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षाका लागि अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ ।

महानगरले आगामी आर्थिक वर्षका लागि आन्तरिक आयबाट २ अर्ब २२ करोड, संघीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख, संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार, प्रदेश सरकार राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख ७६ हजारको अनुमानित आयसहितको बजेट प्रस्तुत गरेको हो ।

यसो गर्दा १ अर्ब ३ करोड ७५ लाख ९२ हजार न्यून हुने देखिएकाले त्यसको पूर्ति गर्न गत आर्थिक वर्षमा सञ्चित मौज्दात र चालु आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोरिने उपप्रमूख गुरुङले बताउनु भएको छ ।

बिनियोजन गरिएको रकम मध्ये चालुतर्फ रु २ अर्ब ९० करोड ९४ लाख, पुँजीगत खर्चतर्फ रु.३ अर्ब ३६ करोड ८० लाख खर्च हुने प्रस्ताव अनुमानित बजेटमा गरिएको छ । कुल बजेटमा चालुतर्फ ४६ दशमलव ४ प्रतिशत र पुँजीगत खर्चतर्फ ५३ दशमलव ६ प्रतिशत विनियोजन प्रस्ताव गरिएको छ ।

नगर कार्यपालिकाको कार्यालयतर्फ ८८ करोड ८६ लाख, सामाजिक विकासतर्फ १२ करोड ७९ लाख ८९ हजार, शिक्षातर्फ १ अर्ब ४२ करोड ८७ लाख ३५ हजार, कृषितर्फ १४ करोड ४९ लाख, स्वास्थ्यतर्फ ४० करोड २२ लाख, वडा कार्यालयतर्फ ४१ करोड ६० लाख खर्च हुने अनुमान प्रस्तावित बजेटमा गरिएको छ । महानगरपालिकाले पूर्वाधारतर्फ २ अर्ब ८६ करोड ९० लाख बजेट प्रस्ताव गरेको छ ।

बजेटका प्राथमिकताहरुमा कोभिड–१९ को रोकथाम तथा संक्रमितको उपचार, वडा कार्यालय भवनहरु तथा महानगरको प्रशासनिक भवन निर्माण गरी संस्थागत सुधार, कनेक्टिङ रोडहरुको निरन्तरता मार्फत् विकटलाई निकट ल्याइने, सहरी क्षेत्रमा सडक बत्ती विस्तार तथा आस्फाल्ट प्रविधियुक्त सडक निर्माण मार्फत् स्मार्ट पोखरा र सेफर सिटीको नारा कार्यान्वयन गरिने रहेको उपप्रमूख गुरुङको भनाइ छ ।

त्यसैगरी स्यानिटरी ल्यान्डफिल साइटको वैकल्पिक व्यवस्था गरी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहजीकरण, पर्यटन तथा अन्य पूर्वाधारको क्षेत्रमा निजी लगानी परिचालन गरी रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान गर्ने रहेका छन् ।

आगामी आर्थिक वर्षको बजेटले निर्धारण गरेका प्रमुख विनियोजनका क्षेत्रहरुमा बेगनासताललाई पृथ्वी राजमार्गसँग जोड्ने तालचोक बेगनास सडक, विजयपुर–माझठाना–बेगनास सडक, कात्रे–बाम्दी–घाँटीछिना सडक, बैदाम–पामे–घाँटीछिना सडक, कास्कीकोट गुन्टेचौर, वनपाले पँदेली कृषि सडक, चितेपानी पुरुञ्चौर रैकर ढाब मर्दी सडक, ठूल्ढुंगा सुर्ताने चैनपुर सुरौंदी सडक, पानी टंकी देउराली भञ्झ्याङ सडक, रैकर बेगनास सडक, भलाम–मौजा सडक, आदि कनेक्टिङ सडकहरु प्राथमिकतामा रहेको उहाँले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार महानगरले आगामी आर्थिक वर्षको लागि करको दायरा विस्तार गर्ने तर प्राविधिक विषयहरु बाहेक करका दरहरु वृद्धि नगर्ने नीति लिएको छ ।

आर्थिक वर्षको पुषमसान्तसम्म कर बुझाउँदा साविकमा १० प्रतिशत छुट दिने गरेकोमा महानगरले त्यसमा वृद्धि गरी २० प्रतिशत छुट दिन र चैत मसान्तसम्ममा कर दाखिला गर्दा १० प्रतिशत छुट दिने गरी कोरोना महामारीले आक्रांत स्थानीयवासी र व्यवसाीिलाई राहत दिने प्रस्ताव सो बजेटमा गरिएको छ ।

चालु आर्थिक वर्ष ०७७/७८ को लागि कुल रु‍‍‍. ५ अर्ब ३४ करोड ७१ लाख ७८ हजारको आय व्यय प्रस्ताव स्वीकृत गरिएकोमा जेठ मसान्तस प्रस्तावित आय प्राप्त हुने अवस्था नदेखिएको उपप्रमूख गुरुङको भनाइ छ ।

महानगरले जेठ मसान्तसम्म कुल रु ३ अर्ब ९५ करोड ६३ लाख अनुमानित आयको ७८ प्रतिशत तथा कुल २ अर्ब ४२ करोड ४० लाख अनुमानित व्ययको ४५ प्रतिशत खर्च गर्न सकेको छ ।

यस अघि हिजो महानगर प्रमूख मानबहादुर जिसीले कोरोना भाइरस कोभिड–१९को नियन्त्रण, पूर्वाधार विकास, सुशासन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो ।

कोरोना नियन्त्रण र नागरिकको जीवन रक्षाको लागि सञ्चालित आइसोलेसन, अस्पताल वार्डको सञ्चालन, जनशक्ति व्यवस्थापन, पिसिआर परीक्षण, कन्ट्राक्ट ट्रेसिङलगायतका कार्यहरुलाई निरन्तरता दिइने महानगरको नीति रहेको महानगर प्रमूख जिसीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *