गण्डकी प्रदेश सरकारद्वारा कालीगण्डकी–तिनाउ डाइभर्सनकाे विराेध

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले कालीगण्डकी नदीको पानी डाइभर्सन गरी तिनाउ खोलामा मिसाएर जलविद्युत उत्पादन गर्ने गरी तयार पारिएको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको विराेध गर्नु भएकाे छ ।

अर्थमन्त्री विष्णु पौडेलले आज शनिबार आयोजनाको कार्यालय उद्घाटन गर्नुभएकाे खबर सार्वजनिक भएसँगै मुख्यमन्त्री पाेखरेलले गण्डकी प्रदेश भएर बग्ने कालीगण्डकी नदीसँग जाेडिएकाे आयाेजना बारे कुनै छलफल नगरिएकाे भन्दै यसकाे काम शुरु नगर्न आग्रह पनि गर्नु भएकाे छ ।

आज एक विज्ञप्ति मार्फत पाेखरेलले  गण्डकी र लुम्बिनी प्रदेशका लाखौं नागरिकको सरोकारसँग जोडिएको कालीगण्डकी नदीको पानी डाइभर्सन गरी तिनाउ खोलामा मिसाएर जलविद्युत उत्पादन गर्ने र रुपन्देही र कपिलवस्तुको जमिन सिँचाइ गर्ने हुने गरी तयार पारिएको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा स्थापना भएकोप्रति गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउनु भएकाे छ ।

“माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलज्यूले शनिबार उक्त कार्यालय उद्घाटन गर्नुभएको खबर हामीले प्राप्त गरेका छौं । कालीगण्डकी नदीमात्र नभएर सभ्यता पनि हो । गण्डकी प्रदेशको मुस्ताङबाट सुरु भएर देवघाट हुँदै त्रिवेणीसम्म पुगेको यो नदीले सांस्कृतिक, पर्यावरणीय, आर्थिक, सामाजिक र राजनीतिक महत्व बोेकेको छ ।” विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशसँग कुनै सरोकार नै नराखी आयोजना कार्यालय उद्घाटन भएपछि प्रदेशवासीलाई झस्काएको  भन्दै २०७१ सालकाे नीति तथा कार्यक्रममा यो आयोजना समेटिएदेखि नै तत्कालीन अवस्थामा गण्डकी अञ्चल र लुम्बिनी अञ्चलका जिल्लामा यसको विरोध हुँदै आएको विज्ञप्तिमा स्मरण गराइएकाे छ ।  विरोधको आवाजलाई सम्बोधन गर्ने काम नै नभएकाे बताउँदै एकातिर जलमार्गको सम्भाव्यता अध्ययन गर्ने अर्कोतिर डाइभर्सनको परियोजना कार्यालय नै स्थापना गर्ने संघ सरकारको गतिविधि नै शंकाका घेरामा उहाँकाे भनाइ छ ।

“गण्डकी प्रदेश सरकारसँग समन्वय नै नगरी एकतर्फी ढंगले डाइभर्सन आयोजना अघि बढाएर सरकारले प्रदेश प्रदेशबीच द्वन्द्व निम्त्याउने काम गरेको छ । विस्तृत अध्ययन र अनुसन्धानबिना, समन्वय नगरी यस्ता दीर्घकालीन महत्व राख्ने ठूला परियोजना सुरु गर्नु हुँदैन भन्ने गण्डकी प्रदेश सरकारको ठम्याइ हो । ” पाेखरेलले बताउनु भएकाे छ  ।

राम्दीदेखि देवघाटसम्मका बासिन्दाको भावना विपरीतको यो आयोजनाको काम सुरु नगर्न उहाँले आग्रह गर्नु भएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *