तमानको नीति : ‘बालबालिकालाई झिकाऔ, टिकाऔ र सिकाऔं’

बागलुङ जिल्लाको सबैभन्दा दुर्गम पालिका तमानखोला गाउँपालिकाले ‘बालबालिकालाई झिकाऔ, टिकाऔ र सिकाऔं’ कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले हालै सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रममा सार्वजनिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन र बालबालिकालाई विद्यालय प्रति आकर्षित गर्नका लागि यस्तो नीति तथा कार्यक्रम ल्याएको हो ।

सामाजिक विकासको मेरुदण्डको रुपमा रहेको शिक्षाको विकास तथा बालबालिकालाई विद्यालय आउन प्रोत्साहितका लागि गाउँपालिकाले कुल बजेट २७ करोड ४० लाख मध्ये २ करोड ४६ लाख ४८ हजार ५०० विनियोजन गरेको छ ।

‘बालबालिकालाई झिकाऔ, टिकाऔ र सिकाऔं’ कार्यक्रमका लागि बालविकास केन्द्रलाई निरन्तरता दिदै यसै वर्षदेखि थप एक बालविकास केन्द्र स्थापना गर्नुका साथै नेपाल सरकारको बजेट बक्तव्यमा उल्लेख भए बमोजिम बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीका लागि गाउँपालिकाको तर्फबाट ७ हजार थप तलबको व्यवस्था गरिएको छ ।

“बालबालिकालाई विद्यालयमा घरबाट झिकाउने, टिकाउने र सिकाउने हाम्रो उद्देश्य हो” तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो “विकट गाउँमा शिक्षाको पहुँच बढाउने र सबैलाई बालबालिकालाई विद्यालयमा ल्याउने हाम्रो योजना छ ।” अध्यक्ष बुढाका अनुसार यसमा ‘हाम्रो पालिका हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु¥याउँ’ भन्ने अभियान समेत जोडिएको छ ।

शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित हुन नपरोस् भन्ने मूख्य उद्देश्यका साथ निःशुल्क, सहज र सर्वसुलभ शिक्षा प्रदान गर्नका लागि गाउँपालिकाले करार शिक्षक व्यवस्थापन गर्दै आएको छ । परम्परागत सीपलाई आधुनिक सीपमा विकास गर्न, परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्ने ज्ञान सीपको विकास गर्न ‘एक विद्यार्थी एक सीप, एक विद्यालय एक उत्पादन’ कार्यक्रमका लागि समेत बजेट बिनियोज गरेको छ ।

तमानखोला संस्कृति र सम्पदा हाम्रो शान, हाम्रो पहिचान’ भन्ने भावका साथ गाउँपालिकाको संस्कृति, सम्पदा र ऐतिहासिक स्थललाई यत्रतत्र सर्वत्र परिचित गराई स्थानीय तथा राष्ट्रिय स्तरमा चिनाउन गाउँपालिका गान निर्माण गरिनेछ । जसका लागि १ लाख ५० हजार विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *