पुल भासिएपछि खाद्यान्न ढुवानी रोकियो

आदर्श अनलाइन, मनाङ
मनाङको नार्पाभूमि गाउँपालिकास्थित मस्र्याङ्दी नदीको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीले पुल भासिएको हो । पुल भासिदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ । यही असार महिनाको शुरुआतदेखि परेको अविरल वर्षाका कारण मस्याङ्दी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लामा वितण्डा नै मच्चायो , जिल्लाको सबैभन्दा विकट क्षेत्र नार्पा हो । यहाँ सवारी आवगमन हुदैँन, पैदल , घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ । अहिले मस्र्याङ्दीको बाढीले नार्पा जोड्ने एक मात्र मुख्य माध्यम रहेको कोतोमा झोलुङ्गे पुल भासिएपछि समस्या उत्पन्न भएको छ ।”

बाढीपहिरोका कारण नार्पाभूमिका चार पुल मध्ये तीन बाढीले बगाइसकेको छ । नार्पा जोड्ने मुख्य पुल पनि अहिले भासिएर हिड्नै नहुने भएको यहाँका जनप्रतिनिधिहरुले जनाएका छन् । यहाँका सबै बाटोघाटो र पुलहरु भासिनुका साथै बगाएपछि अहिले खाद्यान्न ढुवानी गर्न समेत रोक लगाइएको छ । नार्पाभूमिका २ का वडाध्यक्ष मिङ्मर फुन्चो लामाले उक्त स्थानमा खाद्यान्न ढुवानी गर्दा दुर्घटनाको सम्भावना रहेकाले आवगमनमा रोक लगाइएको जानकारी दिनुभयो । यसबाट नार्पाका स्थानीय व्यापारी र सर्वसाधारण प्रभावित भएका छन् ।

जिल्लामा बाढीले करोडौँको भौतिक क्षति पुर्याएको जनाइएको छ । मस्र्याङ्दी नदी लगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । नासोँ , चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *