कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय ट्रफी


एजेन्सी : अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् ।

ब्राजिलमा भएको ४७ औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपाको उपाधि जितेको हो । २८ वर्षमा अर्जेन्टिनाले जितेको यो कुनै पनि ठूलो उपाधि समेत हो ।

त्यसयता अर्जेन्टिनाले चार कोपा फाइनल एक विश्वकप फाइनल र दुई कन्फ्रेडेरेसन कप फाइनल गरी कुल ७ फाइनल खेले पनि सबैमा पराजित भएको थियो ।तर यस पटक भने अर्जेन्टिनाले हारको यात्रालाई ब्रेक लगायो । त्यसका लागि ब्राजिललाई घरमै पराजित ग¥यो । २००४, २००७, २०१५ र २०१६ को कोपा फाइनल पराजित भएको अर्जेन्टिना २०१४ को विश्वकपमा पनि पराजित भएको थियो ।

यस्तै मेस्सीले पनि पाँचै पटक फाइनल खेल्दा अन्ततः पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् ।

मेस्सीले २००७, २०१५ र २०१६ कोपा र २०१४ को विश्वकप फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन् । डेढ दशकको प्रयासपछि ३४ वर्षीय मेस्सीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेका हुन् । मेस्सीले फाइनलमा गोल गर्न नसके पनि यस संस्करणमा ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरे ।

मेस्सीले यसअघि सन् २००८ मा चीनमा भएको ओलम्पिकमा गोल्ड मेडल जितेका थिए । तर त्यो यु–२३ टिमले खेल्ने प्रतियोगिता थियो ।

ब्राजिललाई उसैको मैदानमा हराउन अर्जेन्टिनाका लागि एन्जल डि मारियाले निर्णायक गोल गरे । यसअघि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर खेलेका डि मारियाले फाइनलमा पहिलो रोजाइँमै खेल्ने अवसर पाएका थिए । जसमा उनले न्याय पनि गरे ।

रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा डि मारियाले २२औं मिनेटमा गोल गरेका थिए ।

त्यही गोल नै निर्णायक बन्दा अर्जेन्टिनाले उपाधिको खडेरी तोडेको हो । रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए । पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । अर्जेन्टिनाका कप्तान मेस्सीले पनि दोस्रो हाफमा गोल गर्ने अवसर गुमाए ।

अर्जेन्टिनाले ठूलो प्रतियोगितामा फाइनलमा गोल गरेको यो १६ वर्षपछि पहिलो हो । सन् २००५ मा अर्जेन्टिनाले पछिल्लो पटक गोल गरेको थियो । त्यो बेला कन्फेडेरेसन कपमा अर्जेन्टिना ब्राजिलसँगै पराजित भएको थियो ।

यस्तै कोपामा भने अर्जेन्टिनाले २००४ मा पछिल्लो पटक गोल गरेका थिए।

यसपटक कोपा शुरुमा कोलम्बिया र अर्जेन्टिनामै हुने तय थियो । तर अन्तिम समयमा आएर आयोजक परिवर्तन भएको थियो । कोलम्बियामा सरकारविरुद्धको प्रदर्शनपछि अर्जेन्टिनाले एक्लै आयोजना गर्ने तयारी गरिरहेको थियो । तर त्यहाँ कोभिड–१९ को संक्रमण दर बढ्दै गएपछि दक्षिण अमेरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले ब्राजिलमा कोपा गर्ने निर्णय गरेको थियो ।

शुरुमा ब्राजिलकै खेलाडीले विरोध गरे पनि पछि दक्षिण अमेरिकाका सबै १० टिमले प्रतिस्पर्धा गरे ।

अर्जेन्टिनाले अपराजित रहँदै उपाधि जित्दा ६ खेल जित्यो । एक खेल भने बराबरी खेलेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *