रक्सी खाँदा गम्भीर बिरामी परेका दुई जनालाई पोखरा लैजाने क्रममा ।
आदर्श अनलाइन, बागलुङ
जिल्लाको गलकोट नगरपालिकामा घरेलु रक्सी सेवन गरि गम्भीर बिरामी परेका दुई जनालाई पोखरा रेफर गरिएको छ ।
धौलागिरी अस्पतालमा उपचाररत रहेका रोल्पा सुनिल स्मृति गाउँपालिका ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको किड्नीमा पनि असर गरेको देखिएको छ । उनीहरु दुवैलाई मंगलबार विहान थप उपचारका लागि पोखरा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए ।
उक्त मदिरा सेवन गरेका चार जना मजदुरको भने सोमबार राति नै ज्यान गएको छ । गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो ।
रोल्पा सुनिल स्मृति गाउँपालिका ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । ‘मजदुरी गर्दै आएका १४ जना मध्ये ६ जनाले गलकोट नगरपालिका ७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा गए पछि बिरामी परेको देखिन्छ,’ डिएसपी हवारीले भने, ‘यसबारे हामी थप अनुसन्धान गरिरहेका छौ ।’