बागलुङका होटल व्यवसायीद्वारा कोरोना खोप माग

आदर्श अनलाइन, बागलुङ
बागलुङका होटल तथा रेष्टुरेन्ट व्यवसायीले कोरोना खोपको व्यवस्था गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । सरकारले विभिन्न क्षेत्र र उमेर समूहका मानिसलाई कोरोना विरुद्धको खोप दिइरहेको भएपनि आफूहरुलाई उपेक्षा गरेको भन्दै होटल व्यवसायी संघले खोपको व्यवस्था गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीसहितको टोलीले प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई ज्ञापन पत्र बुझाएका छन् ।

कोरोना संक्रमण नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउन दिन प्रतिदिन खुकुलो भएसँगै अन्य क्षेत्र खुकुलो भएपनि होटल व्यवसायीलाई सरकारले हेर्ने नजर फरक रहेको व्यवसायीले आरोप लगाएका छन् ।

होटल व्यवसायी र कर्मचारीहरुलाई खोपको व्यवस्था नहुँदा कोरोना संक्रमणको जोखिम बढेकोले खोपको मागसहित प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताए ।

कोरोना संक्रमण र लकडाउनले होटल व्यवसाय सबैभन्दा बढि मारमा परेको बताउँदै होटल संचालक एवं कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाउने सवालमा राज्यले उच्च प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले कोरोना विरुद्धको खोप उपलव्ध गराउने सवालमा होटल व्यवसायीलाई प्राथमिकता नराखेकोमा आपत्ति जनाउँदै मानिस काम विषेशले घरबाट बाहिर निस्कदा साथ सेवा दिने होटल व्यवसायको महत्वपूर्ण भुमिका हुने भएको हुँदा राज्यले सोही अनुरुप हेर्नुपर्ने बताए ।

पटकपटक आग्रह गर्दासमेत व्यवास्ता भएकोले साउन १५ गतेसम्म पनि आफूहरुको माग सम्बोधन नभए १६ गते धर्ना बस्न बाध्य हुने र २० गते प्रशासनलाई व्यवसायीहरुले चापी हस्तान्त्रण गर्ने अध्यक्ष चोखालले बताए ।

प्रमुख जिल्ला अधिकारी कार्कीले केन्द्रको निर्देशनअनुसार अहिले जिल्लामा खोप लगाउने काम भैरहेकोले अब छिटै सबैले खोप पाउने बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *