बेनी-भकुण्डे सडकको बेहाल

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीको बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नम्बर वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट््याक खुलेको १२ वर्ष वितिसक्दा पनि उक्त सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सडक खुलेको १२ वर्षसम्म पनि व्यवस्थित रूपमा स्तरोन्नति हुन नसक्दा सो सडक उपयोगविहीन बन्दै गएको हो ।

२०६६ सालमा ट्र्याक खुलेको, साढे सात किमी दूरीको बेनी–भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म लाखौं रुपैयाँ खर्च गरिएको भए पनि त्यो सडकमा यातायातका साधन सञ्चालन हुन नसकेपछि सडक मर्मतका नाममा खर्च भएको लाखौं रकम बालुवामा पानी हालेजस्तै भएको स्थानीयले गुनासो गरेका छन् । 

यस सडकको ट्र्याक खुलेदेखि हालसम्म ट््याकटर, साना जीप र मोटर साइकलबाहेक ठूला सवारीसाधनहरू सञ्चालन हुन सकेका छैनन् । साना सवारीसाधन पनि वर्षको चार महिनामात्र मुस्किलले सञ्चालन हुने गरेका स्थानीयले बताएका छन् । सडकमा मोटरसाइकलसम्म गुड्ने बनाउन स्थानीय प्रतिभा युवा क्लबमा आबद्ध पदाधिकारी र स्थानीयवासीले श्रमदान गरेर ढुंगा, गेगर पन्छाउने गरे पनि पानी पर्ने वित्तिकै सडकको अवस्था कामै नलाग्ने हुनेगरेको प्रतिभा युवा क्लब ज्यामरुककोटका सल्लाहाकार याम कार्कीले बताउनुभयो । 

सडक खण्डको कन्थराजथान क्षेत्र र रोहोटे क्षेत्रमा पटक-पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीय बासिन्दाहरूको भनाइ छ । ‘नगरपालिकाको गेटदेखि वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नति र दिगो विकासका लागि जनप्रतिनिधि र सरोकारवाला कसैले ध्यान दिएनन्, खाली बजेट सक्ने काममात्र भयो, बाटोको स्थायित्व भएन’ स्थानीय दिलबहादुर कार्कीले बताउनुभयो । 

कार्कीका अनुसार बेनीदेखि भकुण्डेसम्म जान सल्लेनधारासम्म चारवटा बाटा बनाइएको भए पनि कुनै कामलाग्ने अवस्थामा छैनन् । बेनी–ठूलोगैरा–रोहोटेपानी हुँदै भकुण्डे जोड्ने सडकको सल्लेरीधारा, कन्थराजको थान नजिकको पहरो र ठूलोगैरामा सामान्य वर्षा हुँदा बाटो बिग्रने गरेको छ । २०६७ सालयता बेनी भकुण्डे सडकमा करिब ८० लाखको हाराहारीमा बजेट खर्च भइसकेको छ । बजेट त सकियो तर सडकको अवस्था भने ज्यूँको त्यूँ रहनुले स्थानीयहरू यो सडकको अवस्था कहिले सुध्रन्छ भनेर सरोकारवालासँग प्रश्न गरिरहेका छन् ।

गत आर्थिक वर्षमा बेनी-वौर-ठूलोगैरा-खवरा (विरायचौर)-भकुण्डे सडक उपभोक्ता समिति, बाङ्गघरा–पिपलडाँडा-भीरकुना-भकुण्डे सडक उपभोक्ता समिति र ठूलोगैरा-खवरा-भकुण्डे सडक उपभोक्ता समितिको गरी कुल २६ लाख ५० हजार रुपैयाँ खर्च गरी मर्मत गरिएको बेनी-खवरा-भकुण्डे सडकमा पनि यातायातका साधनहरू सञ्चालन हुनसकेका छैनन् । सामान्य पानी पर्दा सडक पानीले बगाउने गरेको छ । ‘कुखुरालाई चारो हालेजस्तो गरी वर्षैपिच्छे थोरै–थोरैमात्र बजेट आउने र सो बजेटले सडक मर्मतको थोरै पनि काम नहुने समस्याले गर्दा पनि सडकमा सवारी चल्न लायक बन्न नसकेको बेनपा-२ भकुण्डेका समाजसेवी भीमबहादुर पौडेल बताउनुहुन्छ ।

बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाअध्यक्ष हीराबहादुर थापाले कमजोर भू–बनोट, धेरै घुम्ती भएको र वनक्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि वर्षामा काम लाग्ने अवस्थामा नरहने बताउनुहुन्छ । सडकको स्तरोन्नतिका लागि ठूलै बजेटको आवश्यक पर्ने भएकाले नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिएको वडाअध्यक्ष थापाले जानकारी दिनुभयो । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *