९६१ कालिज मरे, २७ लाखको क्षति

आदर्श अनलाइन, पोखरा

 पोखरामा वर्षाका कारण एक कालिज फार्ममा पालिएका कालिज मरेका छन् । लगातारको वर्षाका कारण पोखरा महानगरपालिका ११ काहुँ स्थित ससु कालिज फार्ममा रहेका ६११ वटा कालिज मरेको सञ्चालक सुवास गुरुङले जानकारी दिनुभयो ।

आफूले व्यावसायिक रूपमा कालिज पालन गर्ने उद्देश्यले ११ सयको संख्यामा चल्लाहरू ल्याएर राखेकोमा एक दिन अघि मात्र कालिज फार्ममा  ९३० वटा कालिजको चल्ला हालेकोमा ६११ वटा चल्ला मृत भेटिएको सञ्चालक गुरुङले उल्लेख गर्नुभयो । उहाँका अनुसार एक सय ७० चल्ला भने हुर्काउने क्रममै त्यस अघि नै मरेका थिए । हाल करिब तीन सयको संख्यामा मात्र फार्ममा कालिज रहेका छन् ।

सञ्चालक गुरुङका अनुसार ९७ दिनका कालिजहरू मरेपछि उहाँलाई  करिब १७ लाख बराबरको क्षति भएको छ ।कालिजका चल्लाहरू एकै रातमा वर्षाबाट मरेपछि ठुलो नोक्सानी बेहोर्नुपरे पनि यस्ता घटनालाई पाठका रूपमा लिएर अघि बढ्नुपर्ने  सञ्चालक गुरुङले बताउनुभयो ।

‘हामीले एक दिन अघि मात्र चल्लालाई फार्ममा ल्याएर खुला स्थानमा छाडेका थियौ’, उहाँले भन्नुभयो ‘गर्मीमा हुर्केका चल्लाहरू एक्कासि रातभरको पानीमा पर्दा यस्तो घटना घट्यो, यसलाई  पाठका रूपमा लिएर अघि बढ्छौ ।’

हाल व्यावसायिक कालिज पालनमा सबैको ध्यान बढेको उल्लेख गर्दै उहाँले कुनै रोग वा ठुलै समस्याका कारण यो घटना नघटेको भन्दै यस्ता कुराहरूलाई  सिक्ने मौकाका रूपमा लिएर सबै अघि बढ्नुपर्ने बताउनुभयो ।

त्यसै गरी वर्षाकै कारण एक साता अघि पोखरा–२६  गुँदेतालस्थित कुनो एकीकृत कृषि फार्ममा ३५० वटा कालिज मरेको सञ्चालक प्रकाश कोइरालाले बताउनुभयो ।

गर्मीको समयमा तापक्रम बढ्ने र एक्कासि पानीमा भिजेपछि कालिजमा यस्तो समस्या देखिने गरेको सञ्चालक कोइरालाले बताउनुभयो । उहाँका अनुसार करिब ५ महिना भन्दा बढी समयका ३५० वटा कालिज मर्दा उहाँलाई  १० लाख बराबरको क्षति पुगेको छ ।

हाल पोखरामा कालिज पालनमा युवाहरूको आकर्षण बढेको बताउँदै युवा व्यवसायी कोइरालाले यस्ता खालका समस्याबाट जोगिन चुनौती रहेकोले यस्ता घटनाबाट निराश नभई अघि बढ्न सक्नुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *