पोखराको मणिपाल अस्पताल तीन अर्ब ५० करोडमा विक्री

आदर्श अनलाइन, पोखरा
भारतीय लगनीकर्ताहरुबाट पोखरामा सञ्चालनमा रहेको मणिपाल अस्पताल र  कलेज पोखरेली लगानीकर्ताले खरिद गरेका छन् ।

झन्डै ३ दशक अघिदेखि भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपको लगानीमा सञ्चालनमा रहेको अस्पताल र  कलेज बतास अर्गनाइजेसन र अटोवेज समूहले खरिद गरेका हुन् ।

नौ सय बेड क्षमताको मणिपाल अस्पताल तथा वार्षिक एक सय जनालाई एमबिबिएस अध्यापनको अनुमति पाएको कलेजसँगै ग्रुपको स्वामित्वमा रहेको ४० रोपनी जग्गा गरी  कुल तीन अर्ब ५० करोडमा खरिद गरिएको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द बतासले जानकारी दिनुभयो ।

जसमा बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत शेयर रहने छ । त्यस्तै कलेज खरिद पश्चात् अस्पतालमा उपचार सेवा वृद्धि गर्न तत्काल डेढ अर्ब लगानी गरिने अध्यक्ष बतासले बताउनुभयो ।

अध्यक्ष बतासका अनुसार अस्पताल र कलेजको नाम पाँच वर्षसम्म मणिपाल नै रहनेछ भने त्यसपछि नयाँ आफ्नै नामका साथ् अस्पताल र कलेज सञ्चालन हुनेछ । आफूहरूले नाम प्रयोग गरेबापत भारतीय लगानीकर्तालाई पाँच वर्षको रोयल्टी तिर्ने बतासले उल्लेख गर्नुभयो ।

आफूहरूले जटिल रोगको उपचार गर्न हेलिकप्टर चार्टर गरेर काठमाण्डौ जानुपर्ने अवस्थाको अन्त्य गर्नको लागि भनेर नै पोखरामा लगानी गरेको बतासले बताउनुभयो । ‘हामीले यो भन्दा धेरै सस्तोमा काठमाण्डौमा अर्को अस्पताल र कलेज पाएका थियौ । धेरै जना उपचार गर्न जाने ठाउँ र जनसङ्ख्याका हिसाबले पनि ठुलो सहर काठमाण्डौलाई छाडेर हामीले पोखरा नै रोजेका छौ । पोखरा प्रति हाम्रो अद्भुत माया छ, हामी पोखरा सँगै गण्डकी प्रदेशका बिरामीले हेलिकप्टर चार्टर गरेर काठमाण्डौ जानुपर्ने अवस्थाको अन्त्य गर्न चाहन्छौ’, अध्यक्ष बतासले भन्नुभयो ।

न्युरो र मुटुसहित पोखरामा हाल सम्भव नरहेका रोगको समेत उपचार हुने गरी तत्काल डेढ अर्ब लगानी थप गरिने अध्यक्ष बतासले बताउनुभयो । अबको एक वर्षमा पूर्वाधार र उपकरण जडान सम्पन्न गर्दै सेवा सुचारु गर्ने गरी तत्काल काम अघि बढाइने अध्यक्ष बतासको भनाई छ ।

‘हामीले एक वर्षमा सम्पूर्ण उपचार पोखरामै हुने गरी तयारी गर्दैछौँ । पाँच वर्षमा देशकै नमुना अस्पताल बनाएर देखाउँछौ’, बतासले दावाका साथ् भन्नुभयो । अहिले कलेज खरिदसम्बन्धी सम्झौताको ड्राफ्ट तयार भइसकेको र यसले छिट्टै मूर्त रूप पाउने अध्यक्ष बतासको भनाई छ ।

मणिपाल खरिदसँगै ४ सदस्यीय नयाँ बोर्ड गठन हुने भएको छ । बोर्डमा अध्यक्ष बतास समूहका अध्यक्ष आनन्दराज बतास, उपाध्यक्ष अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेल र सदस्यमा बतास समूहका प्रबन्ध निर्देशक शान्तराज बतास तथा निर्देशक विपेन्द्रराज बतास रहने भएका छन् ।

अस्पताललाई जनताको अस्पताल बनाउँदै सर्वसाधारणले पनि शेयर हाल्न पाउने गरी पब्लिक लिमिटेड कम्पनीका रूपमा लैजाने योजना समेत रहेको अध्यक्ष बतासले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *