सन्तोष गौतम, म्याग्दी
जिल्लाको रघुगंगा –१ मा रहेको बेगखोलाले बगाएर एक जना पैदलयात्रुलाई बेपत्ता बनाएको छ।
भगवतिदेखि तिप्ल्याङतर्फ जाँदै गरेका एक वृद्धलाई खोला तर्ने क्रममा बाढीले बगाएको हो।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले शनिबार अपरान्ह खोलाले बगाएका ती व्यक्तिको परिचय नखुलेको र अझै नभेटिएको बताए। ‘भारी बोकेर खोला तर्दै गरेका पुरुषलाई खोलाले बगाएर कालीगण्डकीमा मिसाएको प्रत्यक्षदर्शी स्थानीयबासीबाट सूचना आएपछि खोजी गरिरहेका छौँ,’ उनले भने ‘व्यक्तिको पहिचान खुलेको छैन।’
स्थानीयबासीका अनुसार शुक्रबार पनि बेगखोलाको बाढीले खोला तर्ने क्रममा बगाएका एक पैदलयात्रुलाई उद्धार गरिएको थियो। राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तर्गत बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका टकबहादुर पुनले बताए।
२०७३ भदौ १७ गतेको रातीको बाढीले बेलिब्रिज र झोलुङ्गे पुल सहित बेगखोलामा ११ वटा घर बगाएको थियो। बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुननिर्माण नहुँदा हरेक बर्खा याममा बेनी–जोमसोम यात्रा गर्ने नागरिकले जोखिम, सास्ति र झञ्जट ब्यहोर्नुपरेको छ।
कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ। पाखा र ठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ। बेगखोला र कालीगण्डकीको दोभानमा खोला वारपार गर्ने घाट छ। बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको छ।
बेगखोलामा ७० मिटर लामो सडक पुल निर्माण गर्न सडक विभाग अन्तर्गतको पुल महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र केसीले बताए। उनका अनुसार सडक पुल निर्माण नहुँदासम्मका लागि पैदलयात्री र मोटरसाइकल आवतजावतलाई सहज बनाउन गण्डकी प्रदेश सरकार अन्तरगतको पुर्वाधार विकास कार्यालय म्याग्दीले झोलुङ्गे पुल बनाउन ठेक्का प्रस्ताव आव्हान गरेको छ।