माधव नेपालको पार्टीको औचित्य छैन् : पुर्व मुख्यमन्त्री गुरुङ

आदर्श अनलाइन, म्याग्दी

नेकपा एमालेका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालको नेकपा एकिकृत समाजवादी पार्टीको औचित्य नभएको बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता गुरुङले यस्तो बताउनुभएको हो ।

‘माधव नेपालले ओलीसंगको झगडा र स्वार्थका कारण एमाले फुटाउनुभएको हो ,कुनै विचार ,सिद्धान्त नमिलेर होइन् । बिचार ,सिद्धान्त र संगठन बिना बनेको पार्टीको कुनै औचित्य छैन् ,’उहाँले भन्नुभयो ।

विभाजन पछिका माओवादी ,कांग्रेस लगायत पार्टीको उदाहरण दिँदै नेता गुरुङले भन्नुभयो ,‘फुटले कसैलाई पनि फाइदा गर्दैन् । नेपालमा त झन माउ पार्टी फोडेर बनेका नयाँ पार्टी शक्तिशाली भएको कुनै इतिहास छैन् ।’माधव नेपालले पार्टी फुटाउन प्रचण्डसंग गोप्य रुपमा लिखित सम्झौता गरेको भनेर माओवादीका नेताले नै आफुलाई सुचना दिएको उहाँको दावी थियो ।

एमालेका अध्यक्ष ओली र नेपालको सहमति अनुसार नै दश बुँदे सहमति पत्र तयार पारेको भएपनि पछि माधव नेपालले धोका दिएको बताउनुभयो । माधव नेपालले पावर सेयरीङ चाहियो भनेपछि पार्टीलाई फुटबाट जोगाउन आफुले पार्टी संरचनालाई २ जेठ २०७५को अवस्थामा फर्काउने ,महाधिवेशन सम्म दुई जना अध्यक्ष बनाउने प्रस्ताव गरेको नेता गुरुङले बताउनुभयो ।

‘माधव नेपालले पावर सेयरीङको कुरा गरेपछि पार्टीलाई पुरानै संरचनामा फर्काउने र महाधिवेशन सम्म दुई जना अध्यक्ष बनाउने प्रस्ताव गरेँ ,’उहाँले भन्नुभयो, ‘तर माग गर्दैै जाने अनि निहुँ झिक्दै जाने त्यसपछि पार्टी छोडेर जाने उहाँको उद्धेश्य रहेछ ।’

एमाले स्थायी कमिटि सदस्य ,गण्डकी प्रदेश इन्चार्ज तथा गण्डकीका पुर्व अर्थमन्त्रि किरण गुरुङले पार्टी विभाजनले कसैलाई पनि फाइदा नहुने बताउनुभयो । उहाँले दुई नेताको झगडाले पार्टी विभाजन भएको बताउनुभयो । माधव नेपाल केही समयपछि एमालेमै फर्किने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ओली सरकारले अध्यादेश ल्याउँदा मिडियाले ओलीलाई प्रतिगमनकारी भनेको र आज तिनै अध्यादेश ल्याउँदा मौन बसेको समेत आरोप लगाउनुभयो ।नेता गुरुङले मिडियाप्रति आक्रोश पोख्दै भन्नुभयो ,‘हिजो ओली सरकारले अध्यादेश ल्याउँदा ,संसद विघटन गर्दा मिडियाले ओलीलाई प्रतिगमनकारी,गणतन्त्र समाप्त पार्न खोज्यो ,संविधान समाप्त पार्न खोज्यो जस्ता अनेक लेखे । आज देउवा सरकारले तिनै अध्यादेश ल्याउँदा भने मौन् बसेका छन् । यो कस्तो खालको हो ?’

माधव नेपाल पतनको बाटोमा हिँडेको आरोप लगाउनुभयो । ‘माधव नेपाललाई एमालेमै फर्किने अझै पनि समय छ ,तर होइन भने नेपाल जाने भनेको रायमाझीकै बाटो हो ,’उहाँले भन्नुयो ,‘ हिजोका कम्युनिष्ट आन्दोलनका संसार हाक्ने ,संसार हल्लाउने नेताहरु पनि अन्तिममा गएर बैचारिक हिसावले स्खलन भएर पतन भएका थिए, उहाँहरु पनि त्यही बाटोमा पुग्नुहुन्छ ।

कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष तथा प्रदेश सांसद इन्द्रलाल सापकोटा, एमाले गण्डकी प्रदेश कमिटि सदस्य नवराज शर्मा ,नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ ,उपाध्यक्ष देबेन्द्र बहादुर केसी लगायतले बोल्नुभएको थियो । कार्यक्रम संचालन जिल्ला कमिटि सचिव बालकृष्ण सुवेदीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *