गण्डकीकाे सबैजसो क्षेत्रमा टेलिकमको फोरजी सेवा, फाइबर र फाइभजी बिस्तारको काम द्रुत

आदर्श अनलाइन, पोखरा
नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानिय तहको नेटवर्क एरियामा फोरजी सेवा पु¥याएको जनाएको छ । यद्यपी, केही स्थानमा नेटवर्क पहुँच नभएको पाइएकाले त्यहाँ टावर राख्ने प्रक्रिया सुरु भइसकेको टेलिकमले जनाएको छ ।

पोखरामा बुधबार आयोजित पत्रकार भेटघाटमा टेलिकमले गण्डकी प्रदेशमा भएको ८५ वटै स्थानिय तहमा नेपाल टेलिकमको फोरजी सेवा पुगेको जानकारी गराएको हो । प्रदेशका ११ जिल्लाका ८५ वटा स्थानिय तहमा ५०३ वटा फोरजीका टावर राखिएको नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लोहियाले जानकारी दिए ।

सबै स्थानिय तहमा फोरजी सेवा पुगेपनि केही पालिकाका केही स्थानमा भने नेटवर्क पुगिनसकेको उनले बताए । नेटवर्क नपुगेका ठाउँहरुको पहिचान भइसकेको छ, उनले भने, ‘प्रदेशका ४८ वटा ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ, ती ठाउँमा चाँडै टावर राखेर नेटवर्क पुग्ने ब्यबस्था गर्छौं ।’

सह–प्रवक्ता लोहियाले नेपाल टेलिकमको सिमहरु मध्ये टुजी भ्वाइस, थ्रीजी भ्वाईस र डाटा तथा फोरजी डाटा बेसिस रहेको बताए ।

नेपाल टेलिकमले सेवाको गुणस्तरसँगै प्रविधि पनि थपिरहेको जनाएको छ । उनका अनुसार पछिल्लो पटक फाइबर र फाइभजी बिस्तारको काम भइरहेको छ । फाइबर तीब्र रुपमा बिछ्याउने काम भइरहेको सह–प्रवक्ता लोहियाले बताए ।

‘यसको गुणस्तर राम्रो भएर अहिले यसको डिमाण्ड हाई छ, तर डिमाण्ड अनुसार सेवा पु¥याउन नसकेपनि सक्दो कोशिष गरिरहेका छौं’–उनले भने । लोहियाका अनुसार फाइबर टु दि होम सर्भिसका लागि ११ लाख ७४ हजार साइडको लागि तयारी भएको छ भने ५ लाख ६४ हजारलाई वितरण गर्न योग्य रहेको र १ लाख ८३ हजारलाई वितरण गरिसकेको जानकारी गराए ।

सह–प्रवक्ता लोहियाले फाइभजीको ट्रायल टेस्टको तयारी भइरहेको छ । चार ठाउँमा परीक्षण स्थान तोकेर सेवा दिने तयारी भइरहेको उनको भनाई छ ।

नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख डिल्लीराम अधिकारीले नेपाल टेलिकमले राज्य हुनुको अनुभूतिसमेत दिलाइरहेको दाबी गरे । प्रहरी, प्रशासन नपुग्ने ठाउँ जहाँ भाषा, भेषभुषासमेत छिमेकी देशको चल्ने ठाउँमा नेपाल टेलिकमको सेवा लिँदा त्यसले राज्य हुनुको अनुभूति दिलाउने उनको भनाई थियो ।

उनले सबैको पहुँचमा सेवा पु¥याउन र सर्वसुलभ र सस्तो मूल्यमा सेवा दिन नेपाल टेलिकमले हरदम प्रयास गरिरहेको बताए ।

संचालनमा आयो इन्टरनेटबिना नै पैसा तिर्न मिल्ने ‘नमस्ते पे’

इन्टरनेटबिना नै पैसा तिर्न मिल्नेगरी डिजिटल प्रणाली नमस्ते पे पनि संचालनमा आएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयूक्त लगानीमा मंगलबारदेखि नमस्ते पे संचालनमा आएको हो।

नेपाल टेलिकमको ६२ प्रतिशत र नेपाल राष्ट्रबैंकको ३८ प्रतिशत लगानीमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर डिजिटल पे ‘नेपाल–पे’ सञ्चालनमा आएको सह–प्रवक्ता लोहियाले जानकारी दिए ।

यूएसएसडी सेवा अन्तर्गत हाल मोबाइल फोनबाट विभिन्न डेटा प्याक लिएजस्तैगरी कोड थिचेर आफूले तिर्न चाहेको रकम भुक्तानी गर्न मिल्नेछ। हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि #500# डायल गरी सेवा प्रयोग गर्न सकिनेछ। यस सेवालाई पनि क्रमशः थप विविधिकरण गर्दै लगिने कम्पनीले जनाएको छ।

इन्टरनेटबिना यूएसएसडी कोडका आधारबाट सीमित भुक्तानी मात्रै गर्न सकिन्छ, यसबाट सबै भुक्तानी गर्न मिल्दैन । पहिलो चरणमा यूएसएसडी कोडका आधारमा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन्।

यूएसएसडी कोडमार्फत भुक्तानी गर्न इन्टरनेट चाहिँदैन। कम्पनीले प्रदान गर्ने कोडका आधारमा रकम भुक्तानी गर्न मिल्नेछ। यूएसएसडी कोडमार्फत भुक्तानी गर्दा मोबाइलमा भएको ब्यालेन्स पनि काटिँदैन।

यसैगरी, नमस्ते पे मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंकसहित करीब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ। बाँकी बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिने कम्पनीले जनाएको छ।

नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा हो। टेलिकमको मोबाइल ब्यालेन्सलाई नै पैसाको रूपमा उपयोग गर्न सकिँदैन। नमस्ते पे वालेटमा बैंक वा एजेण्ट नेटवर्क मार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानीको लागि प्रयोग गर्न सकिन्छ।

मोबाइल वित्तीय सेवाको लागि बैंक, मर्चेन्ट, युटिलिटी सेवा प्रदायक, अनलाइन व्यवसाय सञ्चालक लगायतका विविध साझेदार र सरोकारवालाहरूसंग व्यावसायिक, वित्तीय सहकार्य तथा प्राविधिक अन्तरआवद्धताको विकास एवम् परीक्षण समेत गर्नुपर्ने भएकोले सम्भावित सवै किसिमका सेवाहरू एकैपटक सञ्चालन गर्न नसकिएको कम्पनीले जनाएको छ।

दैनिक उपयोगका सेवाहरूको महसुल, शिक्षा स्वास्थ्य सम्बन्धी खर्च, सरसामानको खरिदको पैसा तथा सरकारी सेवाहरू र कर सम्बन्धी दायित्वको भुक्तानी समेतका आर्थिक गतिविधिहरु विद्युतीय माध्यमबाट गर्न सकेमा उल्लेख्य सहजता हुने जनाउँदै कम्पनीले यी कारोबारको अभिलेख राख्न, पारदर्शिता सुनिश्चित गर्न तथा चुहावट कम गर्न समेत सघाउ पुग्ने कम्पनीले जनाएको छ। यही वृहत्तर उद्देश्यका साथ सेवा विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *