घतानका सहकारीकर्मी महिलालाई सहकारी शिक्षा

आदर्श अनलाइन, म्याग्दी
सहकारीमा आवद्ध महिलाहरुको क्षमता अभिवृद्धि गरी सहकारी सञ्चालनमा सहजता प्रदान गर्ने उद्देश्यका साथ बेनी नगरपालिका–९ का महिलाहरुलाई सहकारी ऐन, नियमावली तथा वित्तीय साक्षरता सम्बन्धी तालिम शुरु भएको छ ।

वडा स्तरीय महिला सञ्जालको आयोजना, इच्छा महिला विकास बचत तथा ऋण सहकारी संस्थाको संयोजन तथा वडा कार्यालयको सहयोगमा सञ्चालित तालिममा सहकारी सञ्चालनका लागि आवश्यक नीति नियम, सहकारीमा सदस्यहरुको भूमिका, सञ्चालकहरुको जिम्मेवारी, वित्तीय साक्षरता, सहकारी व्यवसाय लगायतका विषयमा सहजीकरण गरिने आयोजकले जनाएका छन्् ।

स्थानीय इच्छा महिला विकास वचत तथा ऋण सहकारी संस्था र जडभरत बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध महिलाहरुको क्षमता विकासका लागि तालिम आयोजना गरिएको वडा स्तरीय महिला सञ्जालका अध्यक्ष रश्मी बाँनिया खड्काले जानकारी दिनुभयो ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले ग्रामिण क्षेत्रको अर्थतन्त्रलाई चलायमान गराउन सहकारीको महत्वपूर्ण भूमिका रहेकोले यसको प्रवद्र्धनका लागि स्थानीय सरकारहरुले समन्वय गर्नु पर्नेमा जोड दिनुभयो ।

सहकारीले गाउँमा निष्क्रिय रहेको पूँजिलाई परिचालनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, जिसीले भन्नुभयो–‘घरमा थन्केर बस्ने निष्क्रिय पूँजिसंगै श्रम र सीपलाई परिचालनका लागि सहकारीहरुले थप योजनाका साथ काम गर्नु पर्छ ।’

तालिम उद्घाटन कार्यक्रम इच्छा महिला विकास वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्ति रोकाको अध्यक्षता, उपाध्यक्ष सेती चोखाल (पार्वती) को स्वागत र वडा स्तरीय महिला सञ्जालका सचिव अमिता खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बेनी नगरपालिका वडा नं. ९ साविक घतान गाविस कार्यक्षेत्र भएको इच्छा महिला विकास वचत तथा ऋण सहकारी संस्थामा ७ सय जना शेयर सदस्य, ५२ लाख रुपैया शेयर पूँजि, १ करोड ४६ लाख रुपैया वचत, १ करोड ६६ लाख कर्जा लगानीमा रहेको संस्थाका प्रवन्धक मिना खत्री चोखालले जानकारी दिनुभयो ।

महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन तथा सामाजिक रुपमा सक्रिय र सचेत बनाउनका लागि सहकारीले विभिन्न चेतनामुलक गतिविधिहरु सञ्चालन गर्दै आएको प्रवन्धक चोखालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *