बागलुङ कांग्रेस महाधिवेशनः ६ गाउँपालिका,नेतृत्वमा १७ आकांक्षी

आदर्श अनलाइन, बागलुङ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको वडा तहको अधिवेशन सम्पन्न भए लगत्तै पालिका तहमा नेतृत्वका चयनका लागि चुनावी रौनकता सुरु भएको छ ।

बागलुङमा गत भाद्र २१ गते ८५ वटै वडामा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसले जनाएको छ । यही असोज ९ गते हुने पालिका स्तरीय अधिवेशनमा बागलुङका १० वटै पालिकामा मिति नजिकिए सँगै अधिवेशनको सरगर्मी बढेको छ । अहिले बिभिन्न समूह बनाउँदै उम्मेदवारी घोषणा गर्ने, गाउँ गाउँ पुगेर नेता, कार्यकर्ता भेटघाट गर्ने क्रम तीब्र छ ।

आदर्श सञ्चार डट कमले यसअघि नै बागलुङ जिल्लाका चार नगरपालिकाका कांग्रेसको नेतृत्वका आंकाक्षीबारे समाचार प्रकाशित गरिसकेको छ । यही क्रममा आज जिल्लाका ६ गाउँपालिकामा कांग्रेसको चुनावी चर्चा गरेका छौ ।

निसीखोला गाउँपालिका
जिल्लाको निसीखोला गाउँपालिकामा कांग्रेसको पालिका सभापतिका लागि दुई जना आकांक्षी देखिएका छन् । १४ औँ महाधिवेशनमा वडा नम्बर १ का वडा अध्यक्ष इन्द्रबहादुर मल्ल र वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्ती मगरले नेतृत्वका लागि आकांक्षा व्यक्त गरेको स्थानीय नेताहरु बताउँछन् ।

मल्ल कांग्रेस निसीखोलाका वर्तमान पार्टी सभापति समेत हुनुहुन्छ । घर्ती लामो समयदेखि कांग्रेसमा सक्रिय राजनीति गर्दै आउनुभएका पुराना नेता हुनुहुन्छ । मल्ल र घर्ती दुवैले अहिलेसम्म आफूहरु सभापतिबाट पछि नहट्ने बताउनुभएको छ । मल्लले अहिले पार्टीको जिम्मेवारी सम्हालेको हुँदा नयाँ युवालाई दिनु पर्ने युवा नेताहरुले बताएका छन् ।

जिल्लामै सबै भन्दा बढी कांग्रेसको पकट मानिएको निसीखोलामा युवा पुस्ताले अबको नेतृत्व गर्नु पर्छ भन्नेमा युवाहरु देखिन्छन् भने पुराना नेताहरुले पनि आफूहरुले यस पटक नेतृत्व लिने दाउमा देखिन्छन् । वडा अधिवेशनमा पनि पार्टी सभापति टुंग्याउन निकै सकस परेको थियो ।
दुबै जना सभापतिको दाबेदारबाट पछि नहटे निर्वाचन नै हुन सक्ने सम्भावना समेत स्थानीय नेताहरु आँकलन गर्छन् । निसीखोलामा संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको प्रभाव राम्रै देखिन्छ ।

तमानखोला गाउँपालिका
तमानखोला गाउँपालिमामा पनि पार्टी सभापतिका लागि चार जनाले आकांक्षा व्यक्त गरेका छन् । युवा पुस्ताका नेताहरुले यसपटक नेतृत्व गर्नुपर्नेमा जोड दिँदै युवाहरु अग्रसर भएका छन् । तमानखोलामा खिम छन्त्याल, धर्मबहादुर घर्ती, लिला कुमार छन्त्याल र हिराबहादुर विकले यस पटकको अधिवेशनबाट आफू नै सभापति बन्ने अडान राख्नुभएको छ ।
कांग्रेसको राम्रो प्रभाव रहेको रहेको तमानखोलामा युवाहरुले नेतृत्व गरे अहिलेको भन्दा कांग्रेस थप मजबुत बन्ने नेताहरु बताउँछन् ।

काठेखोला गाउँपालिका
जिल्लाको काठेखोला गाउँपालिकामा पनि सभापतिका लागि दुई जनाको नाम चर्चामा छ ।
१४ औँ महाधिवेशनबाट कांग्रेस काठेखोलको सभापतिमा काठेखोला गाउँपालिका ४ का यमदत्त कँडेल र ५ का ज्ञामनाथ कंडेल आकांक्षी हुनुहुन्छ । यमनाथ शेरबादुर देउवा पक्ष निकटका नेता मानिनु हुन्छ भने ज्ञामनाथ रामचन्द्र पौडेल पक्षधर मानिनुहुन्छ । ज्ञामनाथ अहिले पनि पालिकाको पार्टी सभापति हुनुहुन्छ । काठेखोलामा संस्थापन पक्षको प्रभाव बढी रहेको कांग्रेस नेता कार्यकर्ता बताउँछन् ।

बरेङ गाउँपालिका
बागलुङको दक्षिण बरेङ गाउँपालिकामा पनि महाधिवेनशको माहोल बढेको छ । सभापतिका लागि पाँच जनाले आकांक्षा देखाएका छन् । सभापतिका लागि अमर बहादुर सेरपुर्जा, मोतीराम गौतम, कृष्णबहादुर खत्री, गोविन्द बर्मा र दलबहादुर थापा रहनुभएको छ ।

सेरपुजा बरेङ गाउँपालिका वडा नम्बर ५ सुखौराका वडा अध्यक्ष समेत हुनुहन्छ । यस गाउँपालिकामा सहमतिमै नेतृत्व टुंग्याउने गरी गृहकार्य गरिरहेको अध्यक्ष सेरपुजाले बताउनुभयो । उहाँले ७ गते अगाडि नै सहमतिमा टुंग्याउने गरी छलफल भइरहेको बताउनुभयो ।
‘सहमतिमै नेतृत्व टुंग्याउने गरी छलफल गरेका छौँ, यदि सहमतिमा नेतृत्व टुंगिन सकेन भने लोकतान्त्रिक प्रणाली हो निर्वाचनमै जान्छौँ, निर्वाचनबाटै नेतृत्व चयन हुन्छ ।’

ताराखोला गाउँपालिका

जिल्लामा सबैभन्दा कम प्रभाव रहेको ताराखोलामा सभापतिको आकांक्षीको चर्चा निकै कम छ । नेकपा माओवादी केन्द्रको पकड रहेको ताराखोलामा कांग्रेउको उपस्थिति फितलो छ । यद्यपि, यहाँ कलाधर सुवेदी सभापति बन्ने चर्चा छ । अरु आंकाक्षी नदेखिएको कांग्रेस ताराखोलाले जनाएको छ ।

बडिगाड गाउँपालिका
जिल्लाको बडिगाड गाउँपालिकामा पनि १४ औँ महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । नेताहरुले कार्यकर्ता भेट्नेदेखि समूह निर्माण गर्न तर्फ जुटेको पाइएको छ । यस पालिकामा अहिले तीन जनाको नाम बढी चर्चामा छ । वडा नम्बर ५ का वडा अध्यक्ष अर्जुन खरेल, वडा नम्बर ६ का मौसमकाजी क्षेत्री र वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण गुरुङको नाम चर्चामा छ ।
खरेल वर्तमान कांग्रेस बडिगाडका पार्टी सभापति समेत हुनुहुन्छ । उहाँले सर्वसम्मतका लागि छलफल भइरहेको बताउनुभयो । खरेल र क्षेत्री संस्थापन पक्षका मानिनुहुन्छ भने गुरुङ संस्थापन इतर पक्षको मानिनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *