कुकुर पाल्नेले शुल्क तिरेर दर्ता गर्नु पर्ने

आदर्श अनलाइन, पोखरा
पोखरा महानगरपालिका भित्र कुकर पाल्ने व्यक्तिले अव दर्ता गर्नुपर्ने भएको छ । महानगरमा कुकुर पालेर छाडा छाड्ने तथा सार्वजनिक ठाउँमा दिसा पिसाब गराउने गरेको गुनासो बढेपछि दर्ता प्रक्रिया शुरु गराइएको महानगरका प्रवक्ता धन बहादुर नेपालीले बताउनुभयो ।

हाल पशु महाशाखा सँगको सहकार्यमा पोखरा महानगरको वडा नम्बर ८ बाट दर्ता प्रक्रिया अघि बढाइएको र लगत्तै महानगरका सम्पूर्ण वडामा सो कार्य शुरु गरिने प्रवक्ता नेपालीको भनाई छ ।

कुकर दर्ताको लागि धनीले प्रति कुकुरको एक सय रुपैयाँ बुझाउनुपर्ने उहाँले बताउनुभयो । सय रुपैयाँ तिरेर दर्ता गरेपछि रेबिज विरुद्धको खोप र रु २०० पर्ने बेल्ट नि: शुल्क प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

‘कुकुर पाल्नेले छाडा छाड्दा सडक दुर्घटना लगायतका समस्या भएका छन् त्यसमाथि सार्वजनिक ठाउँमै दिसा पिसाब गराउँदै हिँड्दा वातावरणमा नराम्रो असर परेको छ’, प्रवक्ता नेपालीले पोखरा न्यूजसँग भन्नुभयो ‘ हामीले यस्तो समस्याको निराकरण गर्दै कुकर धनीलाई समाजप्रति उत्तरदायी बनाउन यो अभियान शुरु गरेका हौँ ।’

महानगरको वडा नम्बर ८ मा बिहीबार उपप्रमुख मञ्जु देवी गुरुङले कार्यक्रमको शुरुवात गरेको वडाध्यक्ष रुद्र बरालले जानकारी दिनुभयो । दर्ता सँगै निःशुल्क रूपमा रेबिज विरुद्धको खोप र पोखरा महानगरपालिका वडा नम्बर ८ लेखिएको बेल्ट प्रदान गरिएको वडाध्यक्ष बरालले बताउनुभयो ।

कार्यक्रमको पहिलो चरणमा सम्पूर्ण कुकुरको दर्ता प्रक्रिया अघि बढाइने र दोस्रो चरणमा कुकुर सडकमा छाडा छोड्ने तथा जथाभाबी दिसा पिसाब गराउँदै हिँड्ने धनीलाई ५ देखि १५ हजारसम्म जरिवाना लगाइने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *