शिक्षामा स्थानीय लगानीको खोजी गर्न एन.सि.ई पर्वतको सक्रियता

आदर्श अनलाइन, पर्वत
शिक्षा क्षेत्रको सुदृढीकरणको लागि छलफल तथा बहस चलाउँदै आएको शिक्षाका लागि राष्ट्रिय अभियान (एन.सि.ई) नेपाल, पर्वतको आयोजनामा मोदी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ।

मोदी गाउँपालिका वडा नं. ६ तिलाहार र एन.सी.ईको संयुक्त आयोजनामा ‘निशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ’ भन्ने नाराका साथ ‘शिक्षाका लागि स्थानीय स्रोतको पहिचान र परिचालन’ शीर्षकमा भएको अन्तरक्रियामा बोल्नेहरुले सार्वजनिक शिक्षाका क्षेत्रमा भोगीरहेका समस्याका बारेमा बताएका थिए।

कार्यक्रममा बोल्दै वडाध्यक्ष विमल लामिछानेले आफू विद्यार्थी हुँदा जीवनोपयोगी, व्यवहारिक र वैज्ञानिक, रोजगारमूलक शिक्षाको माग गर्दै राज्यसँग ढुंगामुढा गरेको र आज आफू वडाध्यक्ष हुँदा समेत त्यही माग राखेर कुर्चीमा बसिरहनुपर्ने अवस्था रहनु दुःखद भएको बताए। शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्ने हैसियतमा राज्य नरहेको भन्दै उनले अभावकै बीचमा पनि धेरै सामुदायिक विद्यालयहरुले गरिरहेको अथक प्रयासको प्रशंसा गरे।

‘म विद्यार्थी हुँदा जे जे माग राखेर राज्यसँग ढुंगामुढा गरेँ, अहिले वडाध्यक्षको कुर्चीमा बस्दा पनि मेरा माग तीनै छन्। जबकी ती समस्याको समाधान मेरो तहबाट हुँदैनन् राज्यले नै नीतिगत रुपमा व्यवस्थापन गर्नुपर्छ’ उनले भने, ‘जबसम्म विद्यार्थीलाई छिटो विद्यालय जान मन लाग्दैन, ९ बजेपछि विद्यालय जानुपर्छ भनेर रुन्छ, त्यो शिक्षाको मनोवैज्ञानिक असर के छ?’ माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा रहेको भनिए पनि केन्द्रबाट स्थानीय तहमा यति शिक्षक बढी भएका छन् यतिलाई यहाँ पठाउ भनेर आदेश आउनु गलत भएको बताउँदै वडाध्यक्ष लामिछानेले स्थानीय तहको समस्या र अवस्थाको बारेमा केन्द्रलाई थाहा नभएको उल्लेख गरे। स्थानीय विषयको ठाउँमा अरु नै विषयको अध्यापन हुने गरेको भन्दै उनले त्यसको ठाउँमा स्थानीय स्रोत र साधनको आधारमा त्यहीँको विषयवस्तुको बारेमा अध्यापन गराउनुपर्ने सुझाव व्यक्त गरे।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै एन.सि.ई. नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले सार्वजनिक शिक्षाको सुधारका लागि आर्थिक सहितका अन्य लगानीको आवश्यकता रहेको बताउँदै त्यसको लागि सरकारको मात्रै मुख ताकेर बस्न नहुने बताए। जोसँग जे गर्ने क्षमता छ ती व्यक्तिको पहिचान गरेर उनीहरुलाई विद्यालयसँग जोड्ने तथा विद्यालयले नै विभिन्न अभियान चलाउने लगायतका कार्यक्रमहरु गरेर विद्यालयको आवश्यकता परिपूर्ति गर्न सकिने उनको सुझाव छ। कतिपय ठाउँका विद्यालयमा रहेका आई.सी.टी उपकरणहरु अझै पनि ढाकेर राखिएको अवस्थामा रहेको बताउँदै पहाडीले विद्यालयमा उपलब्ध स्रोत र साधनको भरपूर प्रायेग हुन सके पनि अवस्थामा धेरै सुधार आउने उल्लेख गरे।

‘सरकारले दिएन भनेर सरकारलाई सरापेर बस्ने काम गर्नु भन्दा विद्यालय र बालबालिका हामी सबैका साझा हुन, भोलीका देश हुन भनेर आजैबाट केही न केही गर्ने लक्ष्य बोकेर काम थालौँ, सहयोगीहरुबाट लगानी आउँछ’ पहाडीले भने, ‘यही जिल्लाका कति विद्यालय मर्ज हुने अवस्थामा पुगेर पनि अहिले जिल्लाकै नमूना बनीरहेका छन्, तिनीहरुको कामबाट हामी धेरै सिक्न सक्छौँ। तर त्यसका लागि सामूहिक रुपमा लाग्नुपर्छ।’


वडा सदस्यहरु, विभिन्न विद्यालयका प्राधानाध्यापक तथा शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यहरु समेतको सहभागिता रहेको कार्यक्रममा बोल्दै तुलोदय मा.वि का प्रधानाध्यापक गणेश सुवेदीले सरकारले दरबन्दी घटाउँदै लगेको, दरबन्दी मिलानको नाममा शिक्षकहरुलाई बाहिर पठाइएको, क्षमताको अवस्था नहेरी सामुदायिक विद्यालयमा जबरजस्ती अंग्रेजी माध्यम लागू गरिएको, मातृभाषालाई महत्व नदिइएको तथा अभिभावकले पनि सामुदायिक विद्यालयमा चासो नदिएको बताए।

नमूना विद्यालय बन्नको लागि अभ्यास गरिरहेको नवजागृत माध्यमिक विद्यालयका प्राधानाध्यापक बिष्णु प्रसाद सुवेदीले नेपालको शिक्षा प्रणाली यहाँको माटो सुहाउँदो नभएका कारण शैक्षिक बेरोजगारीको समस्या बढीरहेको उल्लेख गरे। आफ्नो विद्यालयलाई सफल बनाउन नयाँ केही काम नगरेको भए पनि केही गर्ने प्रयासमा आफूहरु रहेको उनको भनाई थियो।

कार्यक्रममा नवदुर्गा प्राथमिक विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद शर्मा, अध्यक्ष देवेन्द्र ज्यू ठकुरी, जनप्रकाश प्रा.वि का प्रधानाध्यापक ख्याम बहादुर लामिछाने, डिमुवा प्रा.वि.का प्रधानाध्यापक राजेश गिरी, हरि प्रा.वि.की प्रधानाध्यापक सिता पौडेल, जनज्योती प्रा.वि का प्रधानाध्यापक सरस्वती लामिछाने, ज्ञानेन्द्र प्रा.वि का प्रधानाध्यापक दल बहादुर खत्री, पञ्चस्वरुप प्रा.वि का प्रधानाध्यापक जगत बहादुर लामिछाने, महेन्द्र प्रा.वि का प्रधानाध्यापक बाबुराम उपाध्याय, जिल्ला समन्वय समितिका सदस्य नन्दलाल सुवेदी लगायतले पनि धारणा राखेका थिए।
वडाध्यक्ष विमल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एन.सी.ई पर्वतका संयोजक यज्ञ प्रसाद शर्माले गरेका थिए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *