गलकोट मल्ममा निशुल्क आँखा शिविर, ३८ जनाको शल्यक्रिया

थम्मन थापा, गलकोट

बागलुङ जिल्लाको पश्चिम गलकोट नगरपालिका ७ मल्ममा निशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर शनिवार सम्पन्न भएको छ ।

शिविरमा ३८ जनाको निशुल्क शल्यक्रिया गरिएको छ भने २ सय २५ जनाले निशुल्क आँखा परीक्षण गराएका छन् ।

श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना तथा श्रीकृष्ण नेत्रालय भैरहवाको चिकित्सक र प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।
आँखामा गम्भीर समस्या भएका बिरामीको शल्यक्रियाका लागि हरिकृष्ण आई केयर फाउण्डेसन रुपन्देही र लायन्स कल्व अफ बुटवल मणिउजेस रुपन्देहीले सहयोग गरेको थियो ।

स्थानीय सिर्जनशील महिला समूह आगाँखेतले व्यवस्थापन गरेको शिविरमा गलकोट र आसपासका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । आँखामा गम्भीर समस्या देखिएका ३८ जनाको श्रीकृष्ण नेत्रालय भैरहवाका डा. सल्मा केसीले परीक्षण तथा शल्यक्रिया गर्नुभएको थियो । ‘आँखा जीवनकै संवेदनशील अंग हो, यसको ख्याल, सरसफाई हामी त्यति धेरै गर्दैनौ, अहिले त सेतो पुतलीको यस जिल्लामा अलि बढी प्रभाव पनि देखिन्छ,’ डा.केसीले आदर्श अनलाइनसँग भन्नुभयो, ‘यो मेरो आफ्नै जन्म गाउँ क्षेत्र पनि हो, यो ठाउँमा भोलिका दिनमा पनि यस्ता कर्म गर्न म इच्छुक छु, यसमा स्थानीयको तदारुकता र सहयोग आवश्यक हुन्छ, यस्ता कार्यले धेरै नागरिकले गाउँ घरमै लाभान्वित हुने अवसर पाउनेछन् ।’

आर्थिक अभावका कारण शहर बजारका सुविधा सम्पन्न अस्पताल पुगेर आँखाको उपचार गर्न नसकेका वबरामीहरुलाई राहत भएको श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट मल्मका व्यवस्थापन समिति अध्यक्ष लोकबहादुर थापाले आदर्श अनलाइनलाई बताउनुभयो । यो कार्यक्रमलाई आगामी दिनमा समेत नियमित कार्यक्रमको रुपमा अगाडि बढाइने अध्यक्ष थापाले बताउनुभयो ।

एक वर्ष पहिले स्थापना भएको आँखा उपचार केन्द्रलाई स्थानीय सरकार, संघ संस्था, महिला समूहले सहयोग गर्दै आईरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *