कमल पौडेल, खर्वाङ
बागलुङ जिल्लाको पश्चिम बडिगाडमा पहिलो पटक रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङ, रिभरहिल युवा क्लव खर्वाङको आयोजना, आधारभूत स्वास्थ्य इकाइ खर्वाङको सहआयोजना तथा नेपाल रेडक्रस सोसाइटी बागलुङ रक्त सञ्चार सेवा र क्षेत्रिय रक्त सञ्चार सेवा पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा ६३ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा क्षेत्रिय रक्त सञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवाली नेतृत्वको ५ सदस्यीय टोलीले ६३ युनिट रगत संकलन गरेको थियो । रक्तदानको उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका अध्यक्ष जब्बर बहादुर लामिछानेले मानविय सेवामा रेडक्रस निरन्तर लागिरहेको र रक्तदान गर्नु जीवनकै सबै भन्दा ठुलो परोपकारी कार्य भएको बताउनुभयो ।
कार्यक्रममा बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले रक्तदान जस्तो पुण्य कार्यमा जोडिने सवै प्रति धन्यवाद व्यक्त गर्नुभयो ।
क्षेत्रिय रक्त सञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवालीले आफुले सहयोग गरेको रगतले कसैको जीवन बाँचिरहँदा हुने आनन्द अन्य कुनै कार्यबाट प्राप्त नहुने बताउनु भयो । ज्ञवालीले रक्तदान गर्नु जीवन नै दान गर्नु सरह भएको भन्दै सामाजिक अज्ञानता र भ्रमका कारण मानिसहरु रक्तदान गर्नबाट छुटिरहेको बताउनुभयो । कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं.२ का अध्यक्ष ढाल प्रसाद शेरचन लगाएत वडा भित्र रहेका अधिकांश सरकारी तथा गैरसरकारी संघसंस्थाको सहभागिता थियो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङका सभापति होमनाथ अर्यालको अध्यक्षता, रिभरहिल युवा क्लव खर्वाङका अध्यक्ष हितमान शेरचनको स्वागत मन्तव्य तथा सचिव जिव वहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो।