बागलुङका व्यापारी दसैंका लागि च्याङ्ग्रा लिन मुस्ताङमा

राम थापा,बागलुङ

बागलुङका व्यापारी दसैंका लागि च्याङ्ग्रा लिन वर्षेनी हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् ।

हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् । व्यापारी अम्मरबहादुर क्षत्री, महेन्द्र केसी लगायत सोमबार जोमसोम पुगेका छन् । कोही बाटोमा जाँदैछन् । भाउ महँगिएका कारण धेरै च्याङ्ग्रा ल्याउने सोचमा व्यापारी छैनन् । “यस वर्ष सयरडेढ सय च्याङ्ग्रा मात्र बागलुङमा भित्रने देखिन्छ”, केसीले भन्नुभयो, “जोमसोममै च्याङ्ग्राको मूल्य १० हजारसम्म बढेको छ ।”

मुस्ताङमा रोज्जा च्याङ्ग्राको मूल्य ४० हजार रूपैयाँसम्म पुगेकाले यहाँ ल्याएर बेच्दा त्यसको भाउ ४५ हजार रूपैयाँ माथि पुग्छ । मूल्यमा कुरा मिले बढी किन्ने नत्र पसलबाट बेच्नका लागि थोरै मात्र च्याङ्ग्रा ल्याएर फर्कने केसीले बताउनुभयो ।

दसैंमा च्याङ्ग्राको मासुको अत्यधिक माग हुन्छ । केही वर्षअघिसम्म दुई हजारसम्म च्याङ्ग्रा यहाँ ल्याइने गरेकामा अहिले त्यो संख्या एकदमै कममा झरेको छ । कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले सहजरुपमा च्याङ्ग्रा मुस्ताङ ल्याउन पाउँदैनन् ।

स्थानीय च्याङ्ग्रा मात्र बजारमा आउने गर्छ । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यापारी बताउँछन् । गत वर्ष यहाँका व्यापारीले रोज्जा च्याङ्ग्रालाई २७ हजार ५ सय रूपैयाँ तिरेर ल्याएका थिए ।

अहिले त्यो बढेर ४० हजार रूपैयाँसम्म पुगेको छ । मूल्य चर्को परेपछि कतिपय व्यापारी यसपालि च्याङ्ग्रा किन्नै गएनन् । यहाँका २० भन्दा बढी व्यापारीले दसैंमा च्याङ्ग्राको कारोबार गर्छन् । लामो बाटामा कठिन यात्रा तय गरेर उनीहरुले च्याङ्ग्रा भित्राउँछन् ।

अर्का व्यापारी क्षत्रीले गत वर्ष जोमसोमदेखि दुई दिनको बाटामा पर्ने चमर भन्ने ठाउँ पुगेर च्याङ्ग्रा ल्याउनुभएको थियो । कोभिड–१९ का कारण च्याङ्ग्राको व्यापार पनि खस्किएको क्षत्रीको भनाइ छ । “मूल्य बढेको थाहा पाएपछि धेरै व्यापारी च्याङ्ग्रा लिनै गएनन्”, उहाँँले भन्नुभयो।

च्याङ्ग्रा कम आउनु र बढ्दो करजस्ता कारणले पनि मूल्य महगिँदै गएको हो । व्यापारीको आउजाउमा पनि बढी खर्च हुन्छ । स्थानीय तहसहित ठाउँ(ठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ ।

पछिल्ला चार वर्षमा २० हजार रूपैयाँभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको छ । छ वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आउनुभएका केसीले महँगो परे पनि दसैंका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको अनुभव सुनाउनुभयो । उहाँको सदरमुकामका मासु पसलसमेत छ । गत वर्ष च्याङ्ग्राको मासु प्रतिकिलो १४ सय रूपैयाँ पुगेको थियो ।

यस वर्ष मूल्य झन् बढ्ने भएको छ । च्याङ्ग्राको व्यापारबाट पहिलेपहिले जस्तो कमाइ हुन छाडेको व्यापारी बताउँछन् । व्यापारीले एउटा च्याङ्ग्रामा रु एकरदुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । रासस

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *