वडा र पालिका अधिवेशनमा केन्द्रित हुँदै एमाले

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले बागलुङ वडा र पालिका अधिवेशनमा केन्द्रित हुन थालेको छ । नेकपा एमाले दशौं महाधिवेशनको तयारी स्वरुप जिल्लाका १० पालिका र त्यस अन्तर्गतका वडाको अधिवेशन एकैसाथ गर्ने तयारीमा जुटेको छ ।

सत्ता बहिगर्मनसँगै पार्टी विभाजित अवस्थामा पुगेको एमाले अहिले गाउँमा भेटघाट, संगठन विस्तार संगै अधिवेशन गर्ने तयारी थालेको हो । भदौ ३१ गते नेकपा एमालेको जिल्ला भेला सम्पन्न भएपछि नेकपा एमाले गाउँ केन्द्रित भएको नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।

“पहिलो चरणमा जिल्ला भेला, पालिका भेला, वडा भेला हुँदै टोल भेला सम्म एमालेले सम्पन्न गरिसकेको छ,” सापकोटाले भन्नुभयो, “अब सबै वडामा ६ गतेनै सर्वसम्मत ढंगले नेतृत्व टुंग्याउने गरी छलफल भइरहेको छ, १० गते सम्म बागलुङका सबै वडामा अधिवेशन सम्पन्न हुनेछ, ९ गते शुरु हुने पालिका अधिवेशनका लागि समेत अहिले छलफल, भेटघाट भइरहेको छ, सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयत्नमा हामी छौं ।”

अध्यक्ष सापकोटाका अनुसार वडा भेला मार्फत वडा अधिवेशन सम्पन्न भए पछि एमालेको विधान अनुसार पार्टी सदस्यताको आधारमा पालिकाले प्रतिनिधिको मापदण्ड तोक्न सक्नेछ । थोरै सदस्य भएको पालिकामा सबैलाई अधिवेशनमा सहभागी गराइनेछ भने ठूलो सदस्यता संख्या भएको पालिकामा पालिकाले बनाएको मापदण्ड अनुसार प्रतिनिधि तोक्ने काम हुन्छ ।

अहिले नेकपा एमालेका नेता तथा कार्यकर्ता घरदैलो अभियान अन्तर्गत गाउँ गाउँमा पुगेका छन् । अहिले संगठित सदस्यता नविकरणका लागि घरदैलो अभियान समेत सञ्चालन गरिएको छ ।

अधिवेशनमा महिला नेतृत्वका लागि समेत पहल कदमी भइरहेको एमालेका बागलुङ इन्चार्ज तथा संघीय सांसद मना केसीले बताउनुभयो । “हामीले अहिले महिलाहरुलाई समावेशी नीति अनुसार नेतृत्वमा ल्याउन प्रयासमा छौ, पार्टीले पनि पालिका तथा वडा तहदेखि नै त्यस किसिमको नीति अबलम्बन गरेको छ, एमाले विधानले महिलालाई ३३ प्रतिशत सुनिश्चित गरेको समेत छ” केसीले भन्नुभयो “६ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चूअल माध्यमबाट एकसाथ वडा अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ, सबैतिर तयारी थालिएको छ ।”

नेकपा एमालेले अन्य पालिकामा सदस्यता संख्याको आधारमा प्रतिनिधिको मापदण्ड तोकिएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष सापकोटाका अनुसार पालिकाले संगठित सदस्यताको आधारमा आफ्नै प्रतिनिधि मापदण्ड तोक्न सक्नेछ । बागलुङ नगरपालिकाको नगर अधिवेशनमा प्रतिनिधि आउनका लागि १० साधारण सदस्य बराबर एक प्रतिनिधि, जनजाती ७ जना साधारण सदस्यता बराबर एक प्रतिनिधि, महिला र दलित पाँच साधारण सदस्यता बराबर एक प्रतिनिधि र दुई जना अल्पसंख्यक साधारण सदस्यता बराबर एक प्रतिनिधि आउन सक्नेछन् ।

३३ प्रतिशत महिला नेतृत्व तथा भूगोल अनुसार नेतृत्व चयन गर्ने विधान महाधिवेशनको मापदण्ड अनुसार जिल्लाको वडा तथा पालिकामा युवा पुस्ता तथा महिला नेतृत्व समेत आउन सक्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *