पुरानै लयमा फर्किंदै बेनीको बजार

आदर्श अनलाइन, म्याग्दी
‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल……’ चर्चित यो गीतका हरफमा भनिएझैं जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको दर कम हुँदै गएपछि पुनः पुरानै लयमा फर्किन सुरु गरेको छ । म्याग्दी नदी र कालीगण्डकीको संगमस्थलमा अवस्थित बेनी बजार प्राकृतिक सुन्दरताले मात्रै होइन, ऐतिहासिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ । इतिहासकारका अनुसार नेपाल एकीकरणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएनन् ।

विसं १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजार तत्कालीन समयमा भोट तिब्बत र मधेशको प्रमुख व्यापारिक नाकासमेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ । बेनी बजार प्राकृतिकरूपले अत्यन्त सुन्दर छ । म्याग्दीको प्रवेशद्वारका रूपमा बेनी बजार रहेको छ । 

कोभिड–१९ को महामारीअघि यहाँ दैनिक सयौं आन्तरिक तथा बाहृय पर्यटकको चहलपहल हुने गरेकामा २०७६ साल चैत ११ गतेदेखि लकडाउन गरिएपछि यहाँको चहलपहल शून्य भएको थियो । तर, गत भदौदेखि संक्रमण दर घटेसँगै बेनीमा आन्तरिक तथा बाहृय पर्यटकहरूको चहलपहल सुरु भएको छ ।

पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धौलागिरि हिमालजस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा दुई वर्षपछि पुनः चहलपहल बढेको स्थानीय व्यापारीहरूले हिमालय टाइम्सलाई बताएका छन् ।

कोभिड–१९ को त्रासका कारण पर्यटक आउन सक्ने वातावरण नभएपछि सुनसान बनेका पर्यटकीयस्थलहरूमा असोज सुरु भएपछि पर्यटकहरूको भिड लाग्न थालेको छ । बेनी बजारमा मायालुको जोडी देखिन थालेका छन् । व्यापार व्यवसाय बढ्न थालेको छ । पर्यटकीयस्थल पर्यटकको प्रतिक्षा गरिरहेका छन् ।

विसं १८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रूप लिएपछि व्यापार व्यवस्थित गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा उल्लेख छ ।

इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो । राजा दिलिपबम मल्ल (डिम्ब मल्ल) गर्मीमा ढोलठाना र जाडोमा बेनी झर्ने गर्दथे । जाडो छल्नका लागि मात्र ढोलठाना दरबार बेनी झर्न थालेको होइन भन्ने कुरा राजकुलो निर्माण गरेर दरबारले नै खेती गर्न थालेको सिंगा नझरेर बेनी झर्न थालेबाट स्पष्ट हुने उहाँले जानकारी दिनुभयो ।

पर्वत राज्यको इतिहासका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती कामीको हो । हतियार निर्माणका लागि उनीहरूलाई बेनी राखिएको हो । गोरखाले बेनी कब्जामात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो ।

उहाँका अनुसार विसं १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्य बजार पारीबेनी थियो । बाग्लुङ मुस्ताङतिरको थोक बजार पारीबेनी नै थियो । बेनीमा स्कुल पाठशाला नखुल्दै पारीबेनीमा मिडिल स्कुल थियो । त्यही स्कुलपछि मल्लाज स्थानान्तरण भएको हो । पारीबेनीको स्कुल मल्लाज उक्लेपछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताउनुभयो । बेनीमा विद्यालय खुलेपछि बस्ती विस्तार हुनेक्रम बढ्दै गएको उहाँको भनाइ छ ।

अहिले बजारको स्वरूप फेरिएको छ । जताततै कंक्रिड नै कंक्रिडका भव्य घर ठडिएका छन् । अति महँगो बजारमध्येको बजार बन्न पुगेको छ बेनी बजार । वैदेशिक रोजगारीका कारण गाउँबाट शहर झर्नेक्रम तीव्ररूपमा बढेको छ । गाउँ खाली भए पनि बजार भरिएको छ । घरजग्गाको कारोबार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागि समेत जग्गा पाइन छोडेको छ ।

पर्यटकलाई लक्षित गरेर करोडौंको लगानीमा स्तरीय होटल, रेस्टुरेन्ट निर्माण गरिएको छ । बैंक तथा वित्तीय संस्था मौलाएका छन् । यहाँको जीवनस्तरले काँचुली फेरेको छ । वार्षिक चार अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएको छ । होटल र यातायात क्षेत्रमा यहाँका व्यवसायीहरूले ठूलो लगानी गरेका छन् ।

बेनी नगरपालिकाका ७ र ८ गरी दुईवटा वडामा समेटिएको बेनी बजार ५१२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १४.४५ जनघनत्व रहेको बेनी बजारमा २०६८ को जनगणनाको तथ्यांकअनुसार दुई हजार घरधुरी र सात हजार जनसंख्या छ । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *