पर्यटकको भेषमा बालयौन दुराचारी

आदर्श अनलाइन, पोखरा
कास्कीमा बालयौन दुराचारको आरोपमा एक विदेशी पक्राउ परेका छन् । पोखरा ६ लेकसाइडको एक घरबाट क्यानडाका ४४ वर्षीय नागरिक रोबर्ट किंक्ले बालयौन दुराचारको आरोपमा पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले किंक्लेलाई उनी बसेको डेरामा ३ बालकसँग आपत्तिजनक अवस्थामा फेला पारेको जनाएको छ । किंक्लेको दुराचारमा परेका बालकहरु ३ जना नै १४ वर्षका छन् । ‘हाम्रो टिम त्यहाँ पुग्दा पनि यौनजन्य गतिविधि चलिरहेकै बेला उसलाई पक्रन सफल भयो,’ कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए ।

किंक्लेको साथबाट प्रहरीले १ थान ल्याप्टप, मोबाइल र यौन उत्तेजना बढाउने क्रिम बरामद गरेको छ । किंक्लेमाथि कास्की प्रहरीले अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार किंक्ले २०१८ मा पहिलोपटक नेपाल आएका थिए । त्यसयता उनी क्यानडा र नेपाल आउनेजाने गरिरहेका थिए । उनी गत एक वर्ष भने पोखरामै बसे । लेकसाइडको एक घरमा उनले एउटा कोठा भाडामा लिएर बसेका थिए ।

उनी बसेको घरको माथिल्लो तलामा एउटमात्र कोठा छ । बाटोतिर फर्किएको झ्याल छ । यही कोठामा बसेर किंक्लेले यौन दुराचार गर्दै आएका थिए । घरको झ्यालबाट बालकहरुलाई खानेकुरा, पैसा फालिदिएर आफू नजिक बनाउने गरेका थिए ।

उनी बसेको घरको पूर्वपट्टिको घरमा बस्ने बालकहरुलाई उनले आफ्नो कोठामा लैजान्थे । एक वर्षदेखि कोठा नछाडेका उनले समयसमयमा नयाँनयाँ बालक ल्याउने गरेको उनका घरबेटी बताउँछन् । उनले बालकहरुलाई चाउचाउ, बिस्कुट, पैसा दिएर पठाउँथे । किंक्ले पनि बालकहरुको घरमा मासु, खानेकुरा लिएर जाने गरेका थिए ।

घरबेटीलाई उनको गतिविधिको सुइँको पनि थिएन । उल्टै, किंक्लेलाई सहयोगी ठाने । ‘१ वर्ष कोठा छाडेन यहीँ बस्यो, कहिल्यै नराम्रो गरेको थाहा पाएनौं, गाईंगुईं त सुन्नुपर्ने त्यही पनि चाल पाइएन,’ घरबेटी भन्छन् ।

किंक्ले बसेको घरनजिकैका एक अपांग बालकलाई पनि किंक्लेले कोठामा लगेर घन्टौंसम्म राख्थे । घरबेटीले हिलो ल्यायो भनेर कराएपनि ती बालक उसको कोठामा जान रोकिँदैनथे । किंक्लेले ती बालकको पनि मन जितिसकेका थिए । ‘एउटा अपांग बालक थियो, ऊ पनि आउँथ्यो, हिलो ल्याइस नआइज भने पनि आउँथ्यो, विदेशीले सहयोग गरेर आयो कि भन्ने सोच्थ्यौं,’ घरबेटीले सुनाए ।

लकडाउनको बेला किंक्लेले अन्दाजी १८ वर्षका युवकलाई आफ्नै डेरामा २ महिनासम्म राखेका थिए । लेकसाइडको होटलमा काम गर्ने ती युवकले पछि जागिर छाडेपछि उनी गाउँ फर्किएको घरबेटी अन्दाज लगाउँछन् । ‘केही महिना त त्यस्तै १८÷१९ वर्षको केटा ल्याएर राख्यो, हामीले १ जनामात्र राख्ने भनेकोमा ऊसहित २ जना भएपछि निकाल्न भन्यौं,’ उनले भने, ‘लकडाउनले गर्दा खानबस्ने ठेगान नभएकाले राखेको सुनाएपछि चाहिँ केही भनेनौं ।’ यसकारण पनि किंक्लेले घरबेटीको विश्वास जितेका थिए । अर्कोतर्फ त्यही घरमा हुने दुराचारबारे घरबेटीको परिवार अनभिज्ञ थियो ।

किंक्ले बसेको घरका सबै सदस्यले आफूहरुले ती दुराचारीको बारेमा सुइँको नपाएको बताए । त्यही परिवारकी बालिकाले भने किंक्लेले साना बच्चाहरुलाई भिडियो देखाउने, कोठामा राखेर खान दिने गर्ने गरेको बताइन् । ‘भिडिओ देखाएर खाना खान दिएर केके गरेर बस्थ्यो,’ किंक्लेको बारे सोध्दा सुरुमै ती बालिकाले भनिन् ।

अभिभावकलाई अत्तोपत्तो हुँदैन, भने विश्वास गर्दैनन्
कास्कीमा बालयौन दुराचारको आरोपमा ७ महिनाको अन्तरमा २ जना विदेशी पक्राउ परेका हुन् । यसअघि चैत अन्तिम साता अमेरिकी नागरिक माइकल नर्मन टेलर बालयौन दुराचारको आरोपमा पक्राउ परे । अहिले उनी कास्की जिल्ला कारागारमा छन् ।

कास्कीमा बालयौन दुराचारी केहीमात्रामा मात्र पक्राउ पर्ने गरेका छन् । किनकी बालकहरुले आफूमाथि भइरहेको घटना गलत हो भन्ने बुझ्दैनन् । सिविन नेपाल कास्की शाखाका प्रमुख शंकर नेपाली भन्छन्, ‘केहीमात्र घटना बाहिर आउँछन् । पेडोफिलहरुको निसानामा बालिका होइन, बालक हुन्छन् । अनि अभिभावक र बालकस्वयंले पनि गलत भइरहेको पत्तो पाउँदैनन ।’

नेपाली अभिभावकलाई बालयौन दुराचारबारे सम्झाउनु पनि निकै गाह्रो हुने एक प्रहरी बताउँछन् । अभिभावकले आफ्नो छोरा यौनदुराचारमा परेको सत्यता स्वीकार्न पनि नसक्ने ती प्रहरीले बताए । ‘यो केसमा अरु बालकहरु पनि छन्, पीडित हुन सक्नेहरु । अभिभावकले पहिल्यै जानकारी पाउँदैनन्, पुरुषसँगै आफ्नो छोराहरु हुने भएकाले । साथमा प्रहरीले नै खबर गर्दा पनि विश्वास गर्दैनन्,’ प्रहरी अधिकृत भन्छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *