सहाराको घोषणा: चार वर्षमा १० हजार उद्यमी,१० वर्षमा एक खर्ब कारोबार

आदर्श अनलाइन, झापा

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आगामी चार वर्षभित्र १० हजार उद्यमी तयार गर्ने घोषणा गरेको छ ।

‘म पनि उद्यमी’ कार्यक्रम अन्तर्गत सहाराले सम्पूर्ण शेयर सदस्यलाई उद्यममा जोड्न लागेको हो । सोमबार संस्थाको २५ औँ बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले उद्यमी सदस्य तयार गर्न अध्ययन, तालिम तथा सीप, ऋण, बजार र प्राविधिक ज्ञान सहयोग गरिने बताएका छन् ।

संस्थाले यसै वर्षदेखि सहुलियत व्याजदरको वैदेशिक ऋण ल्याउने कार्यकारी निर्देशक गिरीले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । रोजगारी सिर्जना र गरिबी न्यूनिकरण कार्यक्रमका लागि संस्थाले उक्त ऋण लगानी गर्नेछ । सदस्य संरक्षण सिद्धान्तको पालना गरेका कारण सहारालाई वैदेशिक सहायताको ऋण रकम प्राप्त हुन लागेको हो ।

१३ अर्ब नजिक वित्तीय कारोबार सञ्चालन गरिरहेको सहाराले आगामी १० वर्षभित्र एक खर्बको कारोबार लक्ष्य निर्धारण गरेको छ । देशको उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाएको सहाराले विश्वस्तरको स्मार्ट सर्टिफिकेसन प्राप्त गरिसकेको छ ।

सहारा नेपालका कार्यबाहक अध्यक्ष हरिप्रसाद निरौलाले संस्थाले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्नुमा शेयर सदस्यहरूको योगदान महत्वपूर्ण रहेको बताए । उनले संस्थालाई प्रविधिमैत्री बनाउँदै लैजाने योजना अघि सारिएको जानकारी दिनुभयो ।

सहाराले चालू आर्थिक वर्षदेखि एटिएम सेवा पनि सुरु गर्ने जनाएको छ । अल्पसंख्यक अतिविपन्न वर्गका परिवारका सदस्यका छोराछोरीलाई डाक्टर पढ्न पाउने गरी संस्थाले व्यवस्था मिलाएको कार्यकारी प्रमुख गिरीले बताउनुभयो।

सन्थाल, मुसहर, लेप्चा, किसान लगायतका जातिलाई डाक्टर पढ्न सहाराले २५ लाख अनुदान दिनेछ । संस्थाका दुईसय अतिविपन्न परिवारका लागि रासन कार्डको माध्यमबाट चामल, दाल, तेल, नुन र चिनीमा ५० प्रतिशत अनुदान दिने नीति सहाराले लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *