आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशनका लागि बागलुङ क्षेत्र नं. २ बाट १ महिला सहित ४ जना सर्वसम्मत चयन भएका छन् ।
क्षेत्र नं. २ बाट एक महिला र ३ अन्य प्रतिनिधि चयन भएका हुन् । महिलातर्फ जिल्ला सचिवालय सदस्य यमुना राना चयन हुनु भएको छ । अन्यतर्फ प्रदेश कमिटि सदस्यहरु मोहनलाल शर्मा, संजय शेरचन (सुनिल) र तुलसीराम अर्याल सर्वसम्मत चयन भएको एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मन कुमारी केसीले जानकारी दिनुभयो ।
क्षेत्र नम्बर २ बाट अन्य ३ जना प्रतिनिधिका लागि उमेदवारी दिएका प्रदेश कमिटि सदस्य तथा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, प्रदेश कमिटि सदस्य सञ्जय श्रेष्ठ, जिल्ला सचिव विष्णु भुषाल, जिल्ला सचिवालय सदस्य डम्मर श्रीस र महिलातर्फ उमेदवारी दिएको बिना कुमारी थापाले उमेदवारी फिर्ता लिएर सर्वसम्मत प्रतिनिधि चयन गरिएको जिल्ला सचिव विष्णु भुषालले जानकारी दिनुभयो ।
जिल्लाबाट चयन हुने दुई जना दलित प्रतिनिधिमा एमाले प्रदेश कमिटिका सदस्य तथा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली र एमाले बागलुङ नगर कमिटिका अध्यक्ष धन बहादुर परियार यस अघि नै सर्वसम्मत चयन भएको निर्वाचन समितिका अध्यक्ष विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो ।
जिल्लाबाट १२ जना प्रतिनिधि छनोट हुनु पर्नेमा दलिततर्फका २ जना र क्षेत्र न.ं २ बाट ४ जना सर्वसम्मत चयन भएपछि क्षेत्र नम्बर १ बाट २ जना महिला र ४ जना अन्य प्रतिनिधि गरी ६ जना प्रतिनिधि छनोट गर्नु पर्ने भएको छ । क्षेत्र नम्बर १ मा पनि सर्वसम्मतका प्रयास भैरहेको जिल्ला इन्चार्ज केसीले जानकारी दिनुभयो ।
क्षेत्र नम्बर एकबाट २ जना महिला प्रतिनिधिका लागि प्रदेश कमिटि सदस्यहरु गीता शर्मा, ममतादेवी शर्मा, हुमा कुमारी जिसी (अञ्जु) र भिमा अधिकारी, जिल्ला सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य सावित्रा रानाले उमेदवारी दिनु भएको छ ।
त्यस्तै अन्य ४ जना प्रतिनिधिका लागि पार्टीका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, प्रदेश कमिटि सचिवालय सदस्यहरु जनक पौडेल र हिरा बहादुर केसी, प्रदेश कमिटि सदस्य नर बहादुर थापा, प्रदेश कमिटि सदस्य तथा संघीय सांसद डा.सूर्य पाठक, प्रदेश कमिटि सदस्यहरु कृष्ण केसी, डिल्लीराज गौतम, शिव प्रसाद सापकोटा र प्रदिप थापा मगर, जिल्ला उपाध्यक्ष कृष्ण पाठक, जिल्ला सचिवालय सदस्यहरु केबि राना मगर र जिल्ला सदस्य कुमार खड्काले उमेदवारी दर्ता गराउनु भएको छ ।