रेडक्रस बागलुङको समिति विघटन, बन्यो तदर्थ समिति

आदर्श अनलाइन, बागलुङ
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिले वैधानिक दायित्व पालना नगरेको भन्दै जिल्ला कार्यसमिति बागलुङको कार्यसमिति विघटन गरेको छ । केन्द्रीय कार्यसमितिको कात्तिक २३ गते सम्पन्न वैठकले नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधानको दफा १७ (क) ले व्यवस्था गरेको केन्द्रीय कार्यसमितिमा निहित अधिकार प्रयोग गरी दफा ५३ (४) घ बमोजिम जिल्ला शाखाको वर्तमान कार्यसमिति विघटन गरेको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा.नेत्रप्रसाद तिम्सिनाले जनाउनु भएको छ ।

केन्द्रीय समितिले वर्तमान कार्यसमिति विघटन गरी विधानको दफा ३५ (१) बमोजित जिल्ला तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको सभापति डिल्लीराज गौतम (काठेखोला–२), उपसभापतिमा बिना थापा (बडिगाड–१), उपसभापतिमा चुडामणी शर्मा (बानपा–१३), मन्त्रीमा कर्ण हमाल (बानपा–२), कोषाध्यक्षमा कोपिला खरेल सापकोटा (बानपा–५), उपमन्त्रीमा जीवन रेग्मी शर्मा (बानपा–५) र उपकोषाध्यक्षमा रमा चालिसे (गलकोट–९) रहनु भएको छ ।

यस्तै कार्यसमितिका सदस्यहरुमा लक्ष्मण पुन (काठेखोला–४), हरि बहादुर पुन (काठेखोला–४), ज्ञान कुमारी छन्त्याल श्रीस (काठेखोला–५), गीता शर्मा (बानपा–१), राम बहादुर जिसी (काठेखोला–७), अनन्त बहादुर खड्का (बानपा–९), डिल बहादुर कार्की (काठेखोला–७) र शिव सापकोटा (बानपा–५) रहनु भएको छ ।

जिल्ला तदर्थ समितिलाई नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधानमा तोकिए अनुसारका काम गर्ने केन्द्रीय सभापति तिम्सिनाले निर्देशन गर्नु भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिले कात्तिक २८ र २९ गते काठमाडौंमा आयोजना गरेको केन्द्रीय सभाको विशेष महाधिवेशनमा प्रतिनिधि पठाउन नव गठित तदर्थ समितिलाई आग्रह गरेको छ ।

केन्द्रले बागलुङ सहित मोरङ, सुनसरी, सिरहा, पर्सा, रौतहट, चितवन, मकवानपुर, काठमाडौं, गोरखा, रोल्पा, जाजरकोट, रुकुम पश्चिम, हुम्ला, कैलाली जिल्ला शाखामा नयाँ तदर्थ समिति गठन गरेको जनाएको छ ।

यसैबीच नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको तदर्थ कार्यसमितिको पहिलो वैठक शुक्रवार सम्पन्न भएको छ । वैठकले केन्द्रीय सभाको विशेष महाधिवेशनका लागि तदर्थ समितिका सभापति डिल्लीराज गौतम, उपकोषाध्यक्ष रमा चालिसे र सदस्य शिव प्रसाद सापकोटालाई प्रतिनिधि चयन गरेको छ । वैठकले जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवालाहरुलाई नया तदर्थ समिति गठनको जानकारी दिने, बैंक खाताहरु तदर्थ समितिका पदाधिकारीहरुको दस्तखतबाट सञ्चालन गर्ने निर्णय गरेको तदर्थ समितिका सभापति डिल्लीराज गौतमले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *