आदर्श अनलाइन, जोमसोम
उत्तर-दक्षिण व्यापारिकमार्ग विस्तारित आयोजना,कालिगण्डकी करिडोर अन्तर्गतको जोमसोम-कोरला सडक अन्तिममा पुगेको आयोजनाले जनाएको छ । जोमसोम-कोरला ११० किमी सडकको ७ खण्ड मध्ये हालसम्म ६ खण्डको काम आयोजनालाई हस्तान्तरण गर्ने तैयारी भईरहेको जनाईएको छ ।
उत्तरी छिमेकी देश चीनको स्वशासितक्षेत्र तिब्बतसंग सीमा जोडिएको कोरला सडक पहुचमार्ग विस्तार गर्ने उद्देश्यले आर्थिक वर्ष ०७३/०७३ साल असारदेखि दुई लेनको ग्राभेल सडकको निर्माणकार्य अघि बढाईएको थियो ।जोमसोम-कोरला सडक स्तरोन्नतिका लागि २ अर्ब ६ करोड बजेट बिनियोजन भएको थियो । मुस्ताङको जोमसोमदेखि झैतेसम्मको ५२ किमी ४ खण्ड र झैते देखि कोरलासम्म ५८ किमी सडकको ३ खण्डमा काम भएकोमा जोमसोम-कोरला सडकको छैटौ खण्डको काम कन्ट्रक्सनको ढिलासुस्तीका कारण अलपत्र परेको छ ।
कालिगण्डकी करिडोर ,बेनी-जोमसोम-कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतीका अनुसार जोमसोम-ताङ्वे १८ किमी सडक बज्रगुरु खड्गकृष्ण जेभी,ताङ्वे देखि चैलेसम्म ११ किमी सडक दिवाडाफे एपेक्स जेभी ,चैले देखि भेनासम्म ११ किमी कन्टेक कान्छाराम कोशी एण्ड न्यौपाने जेभी र भेना देखि झैते सम्म १२ किमी सडक कञ्चनजंघा लामा बिल्डर्स बिरुवा जेभीले सडक स्तरोन्नतिको जिम्मा लिएका थिए । जिम्मा लिएका सबै निर्माण कन्ट्रक्सनले काम सम्पन्न गरेको आयोजना प्रमुख प्रजापतीले बताए ।
यस्तै,जोमसोम-कोरला सडक अन्तर्गत झैते-चराङ १९ किमी सडक कञ्चनजंघा लामा मोतिदान जेभी,चराङ देखि छोसेर २५ किमी सडक तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभी र छोसेर -कोरला १४ किमी सडक स्तरोन्नतिको जिम्मा रौटाहा एपेक्स जेभी कन्ट्रक्सनले लिएका थिए । जसमध्ये कञ्चनाजंघा लामा मोतिदान र रौटाहा एपेक्स जेभी कन्ट्रक्सनले सडक निर्माण सम्पन्न गरी करिडोरलाई हस्तान्तरण गरेको आयोजना प्रमुख प्रजापतीले जानकारी दिए ।
आयोजना प्रमुख प्रजापतीका अनुसार ७ खण्ड मध्ये ६ खण्ड पुरा भएको र चराङ-छोसेर १ मात्र खण्ड निर्माण कन्ट्रक्सनको ढिलासुस्तीले सम्पन्न हुन नसकेको बताए ।उनका अनुसार चराङ-छोसेर २५ किमी सडक विगत ३ वर्षदेखि काम हुन नसकेको हो ।उक्त खण्डको लागि २४ करोड बजेट बिनियोजन भएकोमा १५ करोडको काम भईसकेको आयोजना प्रमुख प्रजापतीको भनाई छ ।
‘चराङ—छोसेर सडकको ६५ प्रतिशत काम भईसकेको छ ,अब ३५ प्रतिशत मात्र काम बाकी हो,‘ आयोजना प्रमुख प्रजापतीले भने,‘चराङमा कुलो र ढलको काम बाकी छ,अरु ठाउँमा कटिङ र फिनिसिङको काम मात्र बाँकी हो ।’ लामो समयदेखि सो खण्डमा कन्ट्रक्सनले सडक निर्माणमा बेवास्ता गरेकाले कन्ट्रक्सनको नाममा जम्मा भएको १ करोड ९ लाख रुपैया ठेक्का मोबिलाईजेशन आयोजनाको खातामा फिर्ता ल्याईएको आयोजना प्रमुख प्रजापतीले बताए ।
भौतिक पूर्वाधार मन्त्रालयले कोभिडका कारण उक्त कन्ट्रक्सनलाई यही चैत्र महिना भित्र काममा फर्किन अल्टिमेटम दिएको छ । सरकारले दिएको अवधिमा कन्ट्रक्सन काममा नफर्किएमा ठेक्का सम्झौताद रद्द गरी नया ठेक्का सम्झौताको प्रक्रिया अघि बढाईने आयोजना प्रमुख प्रजापतीले जनाए ।‘हामीले जेभीको अर्को पार्टनरलाई काममा फर्किन ताकेता गरेका छौं ,यदी काममा नफर्किएर अर्को बिकल्पमा जान्छौं’ आयोजना प्रमुख प्रजापतीले भने।’
राष्ट्रिय गौरवका् आयोजना अन्तर्गत जोमसोम—कोरला सडकको सबैभन्दा चुनौतीपूर्ण स्थानमा सडक स्तरोन्नति गर्ने काम सकिएको छ ।आयोजनाका अनुसार समरको भीर,झो खोला र घ्याकरको अप्ठ्यारो सडकमा निर्माण कार्य सम्पन्न भईसकेको छ ।घ्याकरमा सडक मापदण्ड अनुसार ग्रेड मिलान गरेर बैकल्पिक सडक निर्माण भईसकेको आयोजना प्रमुख प्रजापतीले जानकारी दिए ।‘ अब उपल्लो मुस्ताङको सडक लगभग कम्प्लिट भईसकेको छ ,एकाध स्थानको काम मात्र बाँकी छन् । कन्ट्रक्सन काममा फर्किएमा त्यो पनि २ महिना भित्रै पुरा हुने संम्भावना छ ’उनले भने। ’ उनले जोमसोम—कोरला सडक सहज भएसंगै बस समेत चल्न थालेको जानकारी दिए ।
जोमसोम—कोरला सडकमा कालोपत्रे
राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ सडकको ६५ प्रतिशत भौतिक प्रगती हुदा मुस्ताङ खण्डमा गत बैशाख देखि अस्फाल कालोपत्रेको काम अघि बढाईएको छ ।आयोजनाका अनुसार बेनी—जोमसोम ४ खण्ड मध्ये मुस्ताङ खण्डको तेश्रो र चौथो खण्डमा कालोपत्रेको काम अघि बढाईएको हो ।आयोजना प्रमुख प्रजापतीका अनुसार मुस्ताङको घासा देखि जोमसोमसम्मको ३८ किमी सडकमा सडक स्तरोन्नतिसंगै कालोपत्रे बिच्छ्याने काम भईरहेको छ ।
तेश्रो खण्डको जिम्मा पाएको शर्मा गजुरमुखि जेभीले ८० प्रतिशत र शर्मा युनाईटेडले २० प्रतिशत कालोपत्रे पुरा गरेका छन् । आयोजना प्रमुख प्रजापतीका अनुसार सो स्थानमा कन्ट्रक्सनको बेवास्ताका कारण कालोपत्रे गर्ने काममा ढिलाई हुन पुगेका जानकारी दिए ।०७४ साल असारदेखि निर्माण सुरु भएको बेनी—जोमसोम सडकको भौतिक प्रगती ६५ प्रतिशत र जोमसोम—कोरला सडकको भौतिक प्रगती ९५ प्रतिशत सम्पन्न भईसकेको छ ।
बेनी—जोमसोम सडकको पहिलो खण्ड गलेश्वर देखि तातोपानीसम्मको सडकको काम अहिले कन्ट्रक्सनका कारण काम अघि बढ्न सकेको छैन । शर्र्मा युनाईटेडले जिम्मा लिएको सो खण्डमा ४ किमी सडक कालोपत्रे गरिएको भएपनि बाढी/पहिरो र नदी कटानले कालोपत्रे गरेको क्षेत्रमा क्षति पुगेको जनाईएको छ । त्यहा निर्माण कन्ट्रक्सन काम फर्किने बताईएको र केही दिनमा म्याग्दीका प्रजिअसहितको बैठक बसेर काम अघि बढाईने आयोजना प्रमुख प्रजापतीले जानकारी दिए ।
यस्तै,बेनी—जोमसोम सडक अन्तर्गत तातोपानी देखि घाँसा सम्मको सडक स्तरोन्नति बर्खायामको वर्षा ,बाढी/पहिरो र नदी कटानले पटक/पटक क्षति पू¥याउने गरेको पाईएको छ । म्याग्दीको गलेश्वर र अन्नपूर्ण गापको रुप्से झरना लगायतका स्थानमा अबिरल बर्षासंगै आएको पहिरोले निर्माणधिन सडक संरचनामा क्षति पुगेको छ ।म्याग्दीको काभ्रेमा बैकल्पिक सडक डाईभर्सन निर्माण गरी सडक आवागमन सुचारु गरिएको हो ।म्याग्दीको कमजोर भुबनोट ,भारी वर्षा ,नदी कटान र बाढी पहिरोले सडक निर्माणमा बाधा पुग्ने गरेको आयोजनाको भनाई छ ।आयोजनाले अनुकल मौसमलाई मध्यनजर गरी सडक निर्माणकार्यलाई तिब्रता दिईने जनाईएको छ ।
केही हप्ता अघि राष्ट्रिय सभाको राष्ट्रिय गौरवको आयोजना हेर्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको टोलीले बेनी—जोमसोम—कोरला सडकको स्थलगत अनुमगन गरेको थियो ।राष्ट्रिय सभा सदस्य तथा नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ ,उपसमितिकी सभापती अनिता देवकोटा र राष्ट्रिय सभा सदस्य ईन्दिरादेवी गौतमसहित सचिवालयका दुई कर्मचारीको टोलीले कोरला सडकको अनुमगन गरेको हो । उनीहरुले अलपत्र परेको चराङ—छोसेर सडकको काम र म्याग्दी खण्डमा सडक स्तरोन्नतिमा देखिएका समस्या र चुनौतीका बिषयममा माथिल्लो निकायमा सरकारको घ्यानआर्कषण गराउने बताएका थिए ।