थम्मन थापा, बागलुङ
मुस्ताङ पर्यटकीय र धार्मिक महत्व बोकेको जिल्लाको रुपमा परिचित छ । गुफा, धार्मिक स्थल, पर्यटकीय गन्तव्यहरुमा आनन्द लिन त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन । अहिलेको जमाना डिजिटल युगको हो । हरेक मानिसको हातहातमा अहिले मोवाईल जोहोकोहीको छ ।
इन्टरनेटको माध्ययमबाट सजिलै मानिसले अहिले आफ्ना कुराहरु क्षण भरमै विश्वर पुर्याउँछ । नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्न आफ्नो सेवा विस्तार र स्तरोन्नती कार्यलाई निकै तीव्र रुपमा अगाडी बढाईरहेको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवाको समय सापेक्ष स्तरोन्नती टेलिकमले गरिरहेको छ ।
नेपाल टेलिकमले जिल्लाका मानिसको बस्ती भएका अधिकांश स्थानमा मोवाईल सेवा पुराएको छ । सेवा विस्तार गर्ने सन्दर्भमा टेलिकमले पहिलो पटक लोमान्थाङ गाउँपालिका वडा नम्बर २ न्यानोलमा बिटियस टावर निर्माण गरेर थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । त्यहाँ पुग्ने पर्यटक र स्थानीयलाई मध्यनजर गर्दै टेलिकमले एक साथ भ्वाईस र डाटा मार्फत सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयो ।
मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीयको दैनिकीलाई मोवाईल सेवाले सहजता प्रदान गर्ने शर्माले बताउनुभयो । ‘यसभन्दा अगाडी त्यस स्थानमा कुनै पनि मोवाईल सेवा थिएन त्यहाँका स्थानीय सञ्चारको पहुँचमा नहुँदा उहाँहरुले कठिनाई भोग्दै आउनु भएको थियो, अब मोवाईल सेवा सञ्चालनमा आएसँगै सहजता भएको छ’ उहाँले भन्नुभयो ।
भौगोलिक विकटता, उपकरणहरु पुर्याउन निकै कठिन परिस्थितीको सामना गर्दै स्थानीयसँगको समन्वयमा सेवा पुराउन सफल भएको उहाँको भनाई छ । टेलिकमले निकट भविष्यमा चौंथो पुस्ताको उच्च गतिको ईन्टरनेट सहित गुणस्तरीय आवाज उपलब्ध हुने फोर जी मोवाईल सेवा पुराउने गृहकार्य गरिरहेको जनाएको छ । टेलिकमले ग्रामीण र दुरदराजका बस्तीमा आफनो सेवा विस्तार गर्ने योजना अनुरुप उक्त स्थानबाट पहिलो पटक सेवा सुचारु गरिएको टेलिकमले बताएको छ ।
अहिलेसम्म यो क्षेत्रमा कुनै पनि मोवाईल सेवा नभएको फोन गर्न लोमान्थाङ बजार पुग्नु पर्ने बाध्यता रहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टले बताउनुभयो । भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुत टेलिकमले स्थानीय तह, नागरिक सँग सहकार्य गरि सेवा सञ्चालन गरेको लोमान्थाङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष नगवाङ छेतु गुरुङले बताउनुभयो ।
मोवाईल सेवा सञ्चालनमा आएपछि लोमान्थाङ गाउँपालिकाको वडा नम्बर १ का ६० र वडा नम्बर २ का ९० घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन । यो सँगै कालीगण्डकी करिडोर हुँदै उत्तरी छिमेकी देश चीनसँग जोडिएको कोरला नाका पुग्ने नागरिक भ्वाईस र थ्रीजी मोवाईल डाटा मार्फत सहजै ईन्टरनेटको पहुँचमा जोडिएको वडा अध्यक्ष गुरुङले जानकारी दिए ।
समुद्री सतहदेखि ३ हजार ८ सय मिटरको उचाईमा टेलिकमले टावर निर्माण गरेर सेवा उपलब्ध गराएपछि यहाँका नामछिउ, धारसा, आरका, धिउक, सैतङ, ढाक्या, झोङकेप, मिठु गाउँ मोवाईलको पहुँचमा आएका छन् । त्यस्तै पर्यटकीय गन्तव्यहरु झोङ गुफा, छोसेर गुफा र न्यानोल भएर जाने पर्यटक समेत मोवाईल सेवामा जोडिएको स्थानिय समाजसेवी सोनाम टाई गुरुङले बताउनुभयो ।