पर्वत अस्पतालमा अक्सिजन प्लान्ट र कम्प्रेसर जोडिँदै

आदर्श अनलाइन, पर्वत

जिल्लाका क्रियाशील आठवटा लायन्स क्लब र नेपाल मेडिकल एशोसिएशनको सहयोगमा पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिण्डरमा भर्ने रिफिल मसिन जोड्न लागिएको छ । सिलिण्डरमा अक्सिजन भर्नका लागि आवश्यक कम्प्रेसरको अभावमा सिलिण्डर पोखरा पठाउनुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार उपकरण जडान गरिए पनि काम कहिले सकिन्छ भन्ने यकिन छैन । उपकरण सञ्चालनका लागि २२० भोल्टमाथिको विद्युत् आपूर्ति आवश्यक पर्ने र यसका लागि छुट्टै ट्रान्सफर्मर चाहिने भएकाले त्यसको व्यवस्था नभएसम्म अहिले कम्प्रेसरबाट अक्सिजन भर्न सकिने अवस्था रहँदैन ।

एशोसिएशनको सहयोगमा प्लान्ट र लायन्सको सहयोगमा कम्प्रेसर आए पनि त्यसको जडान र सञ्चालनका लागि आवश्यकपर्ने विद्युतका लागि बजेट व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्ने भएको छ । त्यसका लागि झन्डै रु १२ लाख भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीका लागि अक्सिजन आवश्यक परेमा अहिलेसम्म पोखराबाटै भरेर ल्याइएका सिलिण्डर प्रयोग हुँदै आएकोे छ । त्यसबाहेक अस्पतालमा प्रदेश सरकारको बजेटमा जडान गरिएको अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजनलाई शय्यासम्म पाइप लाइन जडान गरेर बिरामीलाई अक्सिजन दिने गरिएको थियो । डा पौडेलका अनुसार जडान गर्न लागिएको प्लान्टबाट एक दिनमा ३५ सिलिण्डर अक्सिजन उत्पादन हुने भनिएको छ तर कम्प्रेसरले एक दिनमा कति सिलिण्डर ग्यास भर्न सक्छ भन्ने कुरा जडानको काम सकेपछि इञ्जिनीयरले गर्ने प्राविधिक जाँचपछि मात्रै एकिन हुनेछ ।

उक्त प्लान्टलाई अस्पतालको नयाँ भवनमा जडान गर्न लागिएको छ । पन्ध्र शय्या क्षमतामा रहेको अस्पताल ५० शय्या क्षमतामा स्तरोन्नति गर्नका लागि बनेका भवनको काम करिब अन्तिम चरणमा पुगेसँगै अस्पतालको सेवा पनि नयाँ भवनबाट सुरु हुने भएको छ ।

झन्डै रु ७५ लाखको लगानीमा नयाँ अक्सिजन प्लान्ट आएकामा कम्प्रेसरका लागि लायन्स क्लबले रु ३५ लाख लगानी गरेको थियो । अस्पतालमा यस अगाडि नै जडान गरिएको अक्सिजन प्लान्ट अहिले विग्रिएकाले शय्यामा लगिएका पाइपलाईनमार्फत अक्सिजनको आपूर्ति हुनसकिरहेको छैन ।

बिरामीलाई अक्सिजन आवश्यक भए सिलिण्डरमा भरेर ल्याएको अक्सिजन प्रयोग गर्नुपर्ने अवस्था छ । मेडिकल सुपरिटेण्डेन्ट डा. पौडेलका अनुसार अस्पतालमा जोडिएका प्लान्टमा प्राविधिक समस्या आएमा त्यसको समाधान गर्ने प्राविधिक जनशक्ति नपाउदा समस्या हुने गरेको छ । प्रदेशको बजेटमा जडान गरेको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन नभएपछि त्यसको समाधानको लागि सप्लायर्स कम्पनीसँग कुराकानी भए पनि सप्लायर्सले पनि त्यसको समाधान गर्ने जनशक्ति भारतबाट ल्याउनुपर्ने बताएका कारण मर्मत यत्तिकै रोकिएको छ ।

अहिले जडान गर्न लागिएको प्लान्ट र कम्प्रेसर जडानको काम पोखरा र काठमाडौँबाट आएका प्राविधिकले गर्न लागिरहेका छन् । त्यसमा पनि समस्या आए मर्मतकै समस्या हुने उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *