धवलागिरि अस्पतालमा पहिलोपटक पाठेघरको शल्यक्रिया

आदर्श अनलाइन, बागलुङ
धवलागिरि अस्पतालमा पहिलोपटक पेट चिरेर पाठेघरको सफल शल्यक्रिया गरिएको छ । पाठेघरबाट रगत बग्ने, तल्लो पेट दुख्नेलगायत समस्याबाट ग्रसित बागलुङ नगरपालिका–५ की ३६ वर्षीया महिलाको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. केशव आचार्य नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शुक्रबार शल्यक्रिया गरेको हो ।

अस्पतालका एनेस्थिया विशेषज्ञ डा नवीन पौडेल, वरिष्ठ नर्सिङ निरीक्षक देवी भट्टराईलगायत स्वास्थ्यकर्मी शल्यक्रियामा सम्मिलित थिए । चार सन्तानकी आमा रहेकी ती महिला शल्यक्रियामार्फत पाठेघर निकालिएपछि स्वास्थ्य लाभ गरेर घर फर्किसकेको डा. आचार्यले जानकारी दिए ।

‘लामो समयदेखि औषधोपचार गर्दा पनि निको नभएपछि पेट चिरेर गरिने शल्यक्रियामार्फत उहाँको पाठेघर निकालेका हौँ’, उनले भने । यस प्रकृतिको शल्यक्रिया धवलागिरि क्षेत्रमै पहिलोपटक भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले बताए । ‘यो पाठेघरको समस्यामा गरिने मेजर शल्यक्रिया हो, दक्ष चिकित्सक, तालिमप्राप्त स्वास्थ्यकर्मी र उपकरण व्यवस्थापनपछि सफलतापूर्वक शल्यक्रिया सेवा सुरु भएको छ’, उनले भने ।

यसअघि पाठेघरको शल्यक्रियाका लागि बिरामीलाई ठूला अस्पताल पठाउनुपर्ने अवस्था थियो । अब भने यहीँ सहज रुपमा पाठेघरको उपचार हुने बताइएको छ । जटिल प्रकृतिका शल्यक्रिया पनि जिल्लामै हुन थालेपछि बिरामीलाई पोखरा, काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ । अस्पतालले गत असोजमा पहिलोपटक जोर्नी प्रत्यारोपण गरेको थियो ।

बागलुङ–१० की ८६ वर्षीया तुलसा थापाको देब्रे कम्मरको जोर्नीमा रहेको हड्डीको गेडी भाँचिएपछि जोर्नी प्रत्यारोपण गरिएको हो । त्यसलाई चिकित्सकीय भाषामा ‘नेक अफ फिमर’ भनिन्छ ।

दक्ष चिकित्सक र स्वास्थ्य उपकरणको उपलब्धता बढेसँगै अस्पतालले शल्यक्रियालगायत स्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै लगेको छ । ‘सर्जिकलका उपकरण थप्नेदेखि स्वास्थ्यकर्मीलाई तालिममार्फत दक्ष बनाउनेमा अस्पतालले विशेष ध्यान दिएको छ’, मेसु पोखरेलले भने ।

पछिल्लो समय अस्पतालमा हाडजोर्नीको शल्यक्रिया धेरै हुने गरेको उनको भनाइ छ । दुई सय शय्याको उपप्रादेशिक अस्पतालका रुपमा घोषित धवलागिरि अस्पताललाई सोही अनुसारको स्वास्थ्य सेवा र सुविधा थप्नुपर्ने चुनौती छ । अस्पतालले अझै पनि दरबन्दीअनुसार मानव संसाधन र स्वास्थ्य उपकरणको अभाव झेल्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *