आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका–१ पालामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।

बागलुङको विहुँ हुदै सदरमुकाम आउँदै गरेको बा १८ च ५६७७ नम्बरको पिकअप जीप मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडक खण्डको पाला खहरेमा आज विहान करिब ५ बजे दुर्घटना भएको हो ।
दुर्घटना हुँदा बागलुङ नगरपालिका–६ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी (डिएसपी) इकवाल हवारीले जानकारी दिनुभयो । मृतक बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानाका वडा सचिवको रुपमा कार्यरत रहनुभएको थियो ।
दुर्घटनामा बागलुङ नगरपालिका–१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते हुनुभएको छ । घाइतेको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।
घाइतेका अनुसार जीपमा सात जना सवार रहेको भएपनि दुर्घटना पश्चात सवारी चालक सहित अन्य २ जना फरार रहेका छन् । दुर्घटना पश्चात सवारी चालक सँगै फरार रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।