म्याग्दीको गलेश्वरमा शतबीज रोपण र दीपदान गर्नेको भीड

आदर्श अनलाइन, म्याग्दी
पश्चिम नेपालको पशुपतीनाथको रुपमा चिनिएको म्याग्दीको प्रशिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका दिन बिहानैदेदि शतबीज छर्ने र दीपदान गर्नेहरुको भीड लागेको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर धाममा हिजो रातीदेखि नै टाढाटाढाका भक्तजनहरु आएका थिए । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ ।

कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका बीउ छर्ने आएका भक्तजनको घुइँचो लागेको हो । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् ।

गलेश्वरमा सतबिज छर्नका लागि म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, नवलपरासी लगाएतका स्थानबाटसमेत भक्तजनहरु आएका गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

द्वापरयुगमा सतिदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबीज छर्नका लागि हजारौं भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका भीमनाथ पराजुलीले जानकारी दिए । उनका अनुसार गलेश्वरमा रातभरी भजन कीर्तन गर्दै जाग्राम बसेर बालाचतुर्दशीको दिन बिहानै कालीगण्डकी स्नान गरी पितृको स्मरण गर्दै दीपदान सहित  शतबीज छर्ने प्रचलन रहेको छ । 

दुई वर्षअघिसम्म गलेश्वरमा पुजाआजाका साथै बालाचर्तुदर्शीको अवसरमा घुम्ती ब्यापार मेला समेत लाग्ने गर्दथ्यो । तर, कोभिड १९ को संक्रमणका कारणले गत वर्ष र यस वर्ष मेला र घुम्ती व्यापार भने संचालन गरिएको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *