आदर्श सञ्चारको १५ औँ साधारण सभा : बानपा १ र २ को सकियो

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारीको १५ औं वार्षिक साधारण सभा अन्तर्गत पाँचौँ एकाई सभा बिहिबार बागलुङमा सम्पन्न भएको छ ।

साधारण सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दीपक गौतमले पछिल्लो समय सहकारी मार्फत धेरै नागरिकको जीवनयापनमा परिवर्तन आएको बताउनुभयो । उहाँले सहकारीले नाफा कमाउनेभन्दा पनि सेवाका भावले काम गर्नु पर्नेमा जोड दिनुभयो ।

अध्यक्ष गौतमले आदर्श सञ्चार सहकारी अन्य सहकारीका लागि सिकाईको माध्यम समेत बन्दै गएको भन्दै बचत तथा ऋणको काम गर्नुका साथै सञ्चार माध्यम मार्फत जनतालाई सूसुचित गरेको बताउनुभयो । आदर्शले समाज सेवामा महत्वपूर्ण भूमिका खेलेको समेत गौतमले बताउनुभयो ।

कार्यक्रममा जेष्ठ शेयर सदस्य इश्वरी प्रसाद गौतम, संस्थाका सल्लाहकार रुद्रबहादुर महत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका सचिव ललिता थापाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना तथा सदस्यको भूमिका र वार्षिक योजनाको बारेमा प्रस्ट्याउँदै अब आदर्शले आर्थिक कारोबारसँगै स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रलाई जोडेर अभियान र कार्यक्रम केन्द्रित गर्ने बताउनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक महेशचन्द्र प्रदान, कर्णबहादुर कार्की र इश्वरी प्रसाद गौतमलाईलाई जेष्ठ नागरिक भत्ता वितरण गरिएको थियो । सो अवसरमा संस्थाले अपांगता भएका शेयर सदस्यहरुलाई अपांग भत्ता दिने व्यवस्था अनुसार बानपा १ की सपना केसी र बानपा २ का श्यामसुन्दर श्रेष्ठलाई एक हजार रुपैयाँ अपांगता भत्ता प्रदान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट बचत तर्फ शंकर पाण्डे, शशिधर भट्टराई, दयाराम पौडेल, दीर्घकालिन बाल बचत तर्फ दिव्यानी सापकोटा, दीर्घकालीन बचत तर्फ काठेखोलाका रेशमबहादुर आलेलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता, उपाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत र सम्पादक रामबहादुर जिसीको संचालनमा सम्पन्न भएको थियो ।

संस्थाको १५ औं साधारणसभा छैटौँ एकाई अन्तर्गत शुक्रबार बागलुङ नगरपालिका वडा नम्बर ३ र ४ को बागलुङ बजारको होटल दिराजनमा हुँदैछ । संस्थामा हाल तीन हजार शेयर सदस्य, शेयर पूँजी ६ करोड, २९ करोड निक्षेप, ३७ करोड कर्जा लगानी र ४३ करोड वासलात रहेको संस्थाका प्रबन्धक दीपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *