आदर्श अनलाइन, मनाङ
मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङको स्याउ बगैंचाले आन्तरिक तथा बाहिरी पर्यटकको मन लोभ्याएको छ । मनाङमा लगाएको स्याउ फार्म हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक आउने गरेका छन् ।
अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटक पनि बगैँचामा नै रमाउने गरेका छन् । मनाङ घुम्न जानेहरू भ्राताङको स्याउ बगैँचा नघुमी फर्कंदैनन् । स्याउ बगैँचा घुम्ने, फोटो खिच्ने र स्याउ किनेर लाने गर्छन् । ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित एग्रो मनाङ प्रालिले स्याउ हेर्न टिकटको व्यवस्था गरेको छ ।
एग्रो मनाङले स्याउबारीमा पर्यटन प्रवर्द्धन गर्न टिकट प्रणाली लागु गरेको हो । एग्रो मनाङका अध्यक्ष समराज गुरुङले स्याउबारीमा स्याउ हेर्न पर्यटकको भिड लाग्न थालेपछि टिकट प्रणालीको व्यवस्था गरिएको बताउनु भयो ।
स्याउ हेर्न दिनहुँ ६०र७० जना आन्तरिक पर्यटक र ३०र४० जना विदेशी पर्यटक स्याउबारी हेर्न आउने गरेको एग्रो मनाङका अध्यक्ष समराज गुरुङले बताउनु भयो । स्याउ हेर्नका लागि आन्तरिक पर्यटकले प्रतिव्यक्ति २०० र बाह्य पर्यटकले प्रतिव्यक्ति ४०० रुपैयाँ तिर्नुपर्छ ।
काठमाडौँबाट मनाङ घुम्न आएकी सुष्मा केसीले २०० रुपैयाँको टिकट काटेर बगानमा फलेको स्याउ हेरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘दुई सयको टिकटले स्याउबारी घुम्न पाएँ, स्याउ पनि खाएँ, धेरै आनन्दित ठाउँ रहेछ ।’ उहाँमात्र होइन राइनासका प्रविन कंडेल पनि गत वर्ष स्याउ बगैंचा घुम्न मनाङ पुग्नुभएको थियो । उहाँ भन्नुहुन्छ, ‘रमाइलो मौसमको समयमा मनाङको स्याउ बगैंचा डुल्न पाउँदा मन नै आनन्दित भयो । यहाँ आउने धेरै पर्यटक स्याउबारी घुम्न जान लालयित बन्छन् ।’
‘बिदाको समयमा त झन यहाँ अवलोकन गर्न आउनेको घुइँचो नै लाग्छ,’ एग्रो मनाङका अध्यक्ष गुरुङले भन्नुभयो । केही घुम्न त, केही स्याउ खेतीबारे जानकारी लिन आउने गरेका छन् । टिकट काटेर स्याउबारीमा प्रवेश गरेका पर्यटकलाई उनीहरूको जिज्ञासाअनुसार स्याउ, स्याउ रोप्ने तरिका, हुर्काउने विधि, यसको प्रकार, टिप्ने तरिका, भण्डारण, फार्म हाउस साथै ग्रेडिङ प्रणाली देखाइने गरिएको छ ।
दक्षिण एसियामै ठूलो दाबी गरिएको एग्रो मनाङको ७३५ रोपनी जग्गामा स्याउखेती गरिएको छ । एग्रो मनाङले ६ वर्षअगाडी इटली र सर्भियाबाट ल्याएर स्याउ रोपेको हो ।
गत वर्ष ४५० टन स्याउ उत्पादन भएको एग्रो बगानमा यस वर्ष ५०० टन उत्पादन हुने अनुमान गरिएको छ । फार्ममा गाला, गोल्डेन र फुजी जातका स्याउ लगाइएको छ । स्याउलाई स्टोर गर्न भ्राताङ, बेसीसहर र काठमाडौंमा कोल्ड स्टोर बनाइएको छ । मनाङका चार स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नासो र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती गरिँदै आएको छ ।
सबैको रोजाइ बनेको भ्राताङको स्याउ फार्मका सञ्चालक भने संघीय सांसद पाल्देन छोपाङ गुरुङ हुनुहुन्छ । गुरुङले सञ्चालन गरेको ‘एग्रो मनाङ कृषि फार्म’ ले भ्राताङमा स्याउ उत्पादन गर्दै आएको छ । एग्रो मनाङले इटली र सर्भियाबाट स्याउका बोट ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत स्याउ फलाएको ६ वर्ष भइसकेको छ । एग्रो मनाङले समुद्री सतहदेखि दुई हजार ९०० मिटर उचाइको भ्राताङमा ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फलाएको हो ।