कृषि सहकारी संघ बागलुङको ४ वर्षे रणनीतिक योजना निर्माण

आदर्श अनलाइन, बागलुङ
जिल्ला कृषि सहकारी संघ लिमिटेड बागलुङको २ दिने रणनीतिक योजना तालिम बुधवार सम्पन्न भएको छ । संघले आगामी ४ वर्षका लागि रणनीतिक योजना तयार पारेको छ । जिल्लामा रहेका सबै कृषि सहकारीहरुलाई संघमा आवद्ध गराई बजारीकरणमा केन्द्रीत भएर संघका गतिविधि सञ्चालन गर्ने गरी रणनीतिक योजना तयार पारिएको संघका अध्यक्ष नर बहादुर थापाले जानकारी दिनुभयो ।

संघ स्थापना भएको ९ वर्ष भयो तर रणनीतिक योजना नबनाएका कारण हामी अलमलमा थियौ, २ दिनसम्मको छलफल पछि कृषि सहकारी संस्थाहरुमा आवद्ध कृषकहरुलाई उत्पादनमा लाग्न प्रेरित गर्ने र उनीहरुले उत्पादन गरेका वस्तुहरुको संकलन र बजारीकरणमा केन्द्रीत हुने गरी योजना निर्माण गरिएको उहाँले बताउनुभयो ।

कृषि क्षेत्रका लागि बागलुङ संभावना भएको जिल्ला हो, अध्यक्ष थापाले भन्नुभयो,– ‘संभावना भएर पनि यसलाई व्यवसायिक रुपमा अगाडि बढाउन नसक्दा प्रतिफल राम्रो आउन सकिरहेको छैन ।’

कृषि सहकारी संघले सञ्चालन गरेको हाट बजारलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, संघको संस्थागत विकासमा ध्यान दिने, संघमा आवद्ध सदस्य सहकारी संस्थाहरुमा सुशासन कायम गर्दै व्यवसायिक रुपमा सञ्चालनका लागि समन्वय गर्ने संघको योजना रहेको सचिव गंगा बहादुर थापाले बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले समुह छलफलमार्फत जिल्ला कृषि सहकारी संघलाई कृषकहरुको आकर्षणको केन्द्र बनाउन के गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत भएर योजना निर्माण गर्नु पर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय सहकारी महासंघको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *