गण्डकी प्रदेशमा शनिबारसम्म वर्षा र हिमपातको सम्भावना

आदर्श अनलाइन, पोखरा
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसमी बुलेटिन सार्वजनिक गर्दै बिहीबार, शुक्रबार र शनिबार गण्डकी प्रदेशसहित देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । वर्षा हिमपातका कारण तापक्रम घटेको उल्लेख गर्दै महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

महाशाखाका अनुसार आज बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा हल्का वर्षा  र  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने उल्लेख गर्दै महाशाखाले गण्डकी प्रदेशसहित  प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरूमा हल्का हिमपातको  सम्भावना रहेको जनाएको छ  ।

शुक्रबार  दिउँसो देशभर आंशिक बदली रही गण्डकी प्रदेश र प्रदेश नं १ का केही स्थानहरूमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ। त्यस्तै राती गण्डकी प्रदेशसहित  प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। यी स्थानका उच्च पहाडी तथा हिमाली भू-भागमा  हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै  शनिबार देशभर आंशिक बदली रहनेछ । गण्डकी प्रदेश र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *