आदर्श अनलाइन, काठमाडौं
आज देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले चिसो बढेको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको जनाइएको छ । देशका अधिकांश भूभागमा सामान्य बदली रहने र प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जानकारी दिएको छ ।
बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ। शनिबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ ।
प्रदेश १ र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू/भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।