‘माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको मिति घोषणा गर्नुपर्छ’

आदर्श अनलाइन, काठमाडौं
निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको आयोगले शुक्रबार शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँग छलफल गरेको थियो । आयोगको कार्यालयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका छन् ।

संविधानको धारा २२५ मा स्थानीय तहको कार्यकाल निर्वाचन भएको मितिले ५ वर्ष हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र गाउँसभा र नगरसभाको निर्वाचन गरिसक्नुपर्ने उल्लेख छ । तर ऐनमा पहिलो चरणमा निर्वाचन भएको ७ दिनभित्र कार्यकाल शुरु भएको मानिने उल्लेख छ । त्यसैले स्थानीय जनप्रतिनिधिहरुको कार्याकाल २०७९ जेठ ५ गते सकिने आयोगले बताएको छ ।

त्यसपछि स्थानीय जनप्रतिनिधिको म्याद थप्न पनि नमिल्ने र, उनीहरुले गर्ने काम अरुले गर्न पनि नमिल्ने भएकाले वैशाखमा चुनवा गर्नुपर्ने आयोगको तर्क छ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल भन्छन्, ‘निर्वाचनबाहेक अर्को विकल्प छैन । किनकि कुनै पदाधिकारीको म्याद थप्न पनि पाइँदैन, उसले गर्ने काम अर्कोले गर्न पाउँदैन । त्यसैले आगामी जेठ ५ गतेभन्दा अगाडि त्यहाँ पदबहाल गराउन सक्ने गरी निर्वाचन गर्नुपर्छ भन्ने आयोगले आफ्नो पोजिसन राखेको छ ।’

निर्वाचन आयोगले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय चुनाव १४ वैशाखमा एकै चरणमा गर्ने प्रस्ताव गरेको थियो । दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते स्थानीय चुनाव गर्न सकिने आयोगको प्रस्ताव छ ।

आयोगका अनुसार वैशाखमा गर्ने स्थानीय चुनावको मिति घोषणा गर्न ढिला भइसक्यो । निर्वाचन कानुनअनुसार तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै आयोगले माघ पहिलो हप्ताभित्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘छिट्टै निर्वाचनमा जानुपर्छ, माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा हुनुपर्छ भनेर प्रमुख आयुक्तले भन्नुभयो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *