आदर्श अनलाइन, बागलुङ
नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाले शनिबार एक कार्यक्रम गरी बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकामा विपन्न आठ परिवारको लागि खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बिहान बेलुकाको छाक टार्न समस्यामा परेका परिवारलाई चामल, दाल, नुन, तेल र साबुन आदी सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
पदम बहादुर के.सी, भरत के.सी, रामजी किसान, हरिलाल विक, ढलक बहादुर नेपाली, बल बहादुर किसान, सन्तु किसान र दानबहादुर किसानको परिवारलाई खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सदस्य भवानी प्रसाद कंडेलले रेडक्रसले प्राथमिकताको आधारमा गरिब विपन्न परिवारमा पुग्नु पर्ने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाका संस्थापक सभापती एवं वडा अध्यक्ष शिवप्रसाद सापकोटाले रेडक्रसको मर्म र सिद्धान्त अनुसार रेडक्रसले यस्तै समस्यामा परेका मानिसहरुको सेवामा मन,वचन र कर्मले लाग्नु पर्ने र मालिका उपशाखाले संचालन गर्ने हरेक गतिविधीमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो । धन भएका मानिसहरुले मन पनि फराकिलो बनाउन सकेमा मात्र मानव मात्रको सेवा गर्न सकिने भन्दै सहयोगदातालाई धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा तुलसीराम सापकोटा, रेडक्रसकर्मी कोपीला खरेल सापकोटा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम उपशाखा सभापति रेशमलाल सापकोटाको अध्ययक्षता, निर्वतमान सभापती रविप्रसाद शर्माको स्वागत मन्तव्य र सचिव मातृका आचार्यको संचालनमा सम्पन्न भएको थियो ।