आदर्श अनलाइन, स्याङ्जा
स्याङ्जाको आँधीखोला गाउँपालिका-५ र ६ लाई जोड्ने सेतीदोभान पुलको काम सुरु भएको छ । विगत सात वर्षदेखि अलपत्र रहेको पुल निर्माण गर्न विभिन्न ठाउँबाट दबाब आएसँगै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले विशेष चासो र सक्रियता देखाउनुभएको हो ।
गत हप्ता प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सडक डिभिजन कार्यालय पोखराका डिई पारसमणि हमाल, ठेकेदार कम्पनीका प्रतिनिधि ऋषिराम गौतमलगायतको उपस्थितिमा प्राविधिक दृष्टिकोणले उपयुक्त देखिएमा २०७८/७९ भित्रै उक्त पुलको निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले एक हप्ताभित्र निर्माण कार्य सुरु गर्ने र डिभिजन सडक कार्यालयले सोको व्यवस्थापन गर्ने निर्णय भएको थियो ।
सोहीबमोजिम सोमबारबाट रोकिएको पुलको निर्माण कार्य अगाडि बढेको छ । निर्माण कम्पनीका तर्फबाट एक्साभेटर र रोलरसमेतका मेसिनहरू प्रयोग गरी कामको सुरुवात गरिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले विगतमा जे–जसरी काम रोकिएको भए पनि यसै आवभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउन डिभिजन सडक कार्यालय र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।
उहाँले स्थानीय पालिकालगायत सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई उक्त निर्माण कार्यमा सहयोग एवं समन्वय गरिदिन अनुरोध गर्नुभएको छ । डिभिजन सडक कार्यालयका डिई पारसमणि हमालले उक्त पुल निर्माण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।