भाडाको जीर्ण भवनमा प्रहरीलाई सास्ती

आदर्श अनलाइन, जोमसोम

भौगोलिक विकटता,प्रतिकुल मौसम र जीर्ण प्रहरी भवनका कारण मुस्ताङमा कार्यरत प्रहरीलाई ब्यवस्थापनमा निकैनै सास्ती हुने गरेको छ । मुस्ताङ प्रहरीको कुल १६ वटा ईकाई छन् । जसमध्ये केहीको आशिंक मात्र आफ्नै भवन छ भने अधिकांश प्रहरी ईकाईको आफ्नै भवन छैन । भवन नभएका प्रहरी ईकाईहरु बर्षौैवर्षदेखि ब्यक्ति र संस्थागत भवनहरुमा भाडामा बस्दै आईरहेको पाईएको छ ।

मुस्ताङमा २०४० को सेरोफेरोमा प्रहरी ईकाईहरु स्थापना भएका हुन् ।त्यससमय सडक संञ्जाल र प्रहरीलाई चाहिने आवश्यक पूर्वाधार नहुँदा निकै समस्या पर्दैआईरहेको थियो । अहिले सडक सञ्जाल सहज भएपनि प्रहरी ब्यवस्थापनमा देखिएको चुनौती ज्यूँका त्यूँनै छ । व्यक्ति र संस्थागत पुरानो जीर्ण ढुङ्गा र माटोले बनेका भाडाका घरमा प्रहरीलाई नागरिकको सुरक्षार्थ खटाईने गरिएको छ । हिमपात हुँदा ,अत्यधिक चिसो बढ्दा र बर्षा हुँदा दुर्गम भेकमा खटिएका प्रहरीले सास्ती भोग्नु पर्ने बाध्यता छ । सदियौंदेखिको प्रहरी ईकाईको यो समस्या संघीयतापछि पनि उस्तै छ । मुस्ताङमा प्रहरीको जग्गा र भवन नहुँदा यसप्रकारका समस्या देखिएका हुन् । नागरिकको सुरक्षा,अमनचैन र सुशासन कायम राख्न अहोरात्र खटिने राष्ट्र सेवक प्रहरीका लागि राज्यले अहिलेसम्म कुनै सम्वोधन गर्न सकेको देखिन्न ।

चिनसंग सीमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापा अन्तर्गतका अधिकांश प्रहरी ईकाईहरु वर्षौवर्षदेखि जीर्ण भाडाको घरमा बस्दै आईरहेको जिल्ला प्ररही कार्यालय मुस्ताङले जनाएको छ ।यस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्रका प्रहरी ईकाईमा पनि भाडाको घरमा बस्दै आईरहेका छन् ।

मुस्ताङ प्रहरीका अनुसार उपल्लो मुस्ताङको प्रहरी चौकी छोनुप,ईलाका प्रहरी कार्यालय छोसेर,प्रहरी चौकी सुर्खाङ,प्रहरी चौकी चराङ,प्रहरी चौकी घमी,ईलाका प्रहरी चौकी छुसाङ,प्रहरी चौकी कागबेनी र ईलाका प्रहरी कार्यालय मुक्तिनाथ भाडाको जीर्ण भवनमा बस्दै आईरहेका छन् । यस्तै, थासाङ गाउँपालिका—२ कोवाङमा रहेको प्रहरी चौकी पनि भाडामा बस्दै आईरहेको छ ।यसका अलवा जिल्ला ट्राफिक कार्यालय र पर्यटक प्रहरी ईकाई पनि भाडामा बस्दैआईरहेका छन् ।प्रहरीको आफ्नै भवन नहुँदा प्रहरीलाई निकै सास्ती हुने गरेको छ भने अर्कोतर्फ लाखौ रुपिया भाडा तिर्नुपर्ने हुन्छ ।

उपल्लो मुस्ताङको छोनुप प्रहरी चौकी वर्षौवर्षदेखि साविक गाविस भवनमा बस्दै आईरहेको छ । छोसेर प्रहरी चौकी नेचुङ भन्सार कार्यालयको जीण भवनमा बसिरहेको छ ।लोघेकरको सुर्खाङ प्रहरी चौकी सुर्खाङको एक विद्यालय छ ।चराङ प्रहरी चौकी पनि व्यक्तिको घरमा बसेको छ ।लोघेकरको घमीमा तीन वर्षअघि प्रहरी चौकी रहेपनि त्यहाँ प्रहरी राख्ने भाडाको घर नपाउँदा चौकी बस्न सकेको छैन ।

वारागुङ मुक्तिक्षेत्रको ईलाका प्रहरी चौकी छुसाङ बर्षोैदेखि आमा समुह र एक्यापको भवनमा छ ।प्रहरी चौकी कागबेनी स्वास्थ्य चौकीमा छ ।यस्तै,मनाङ र मुस्ताङको सीमाना मुक्तिनाथ रानीपौवामा रहेको ईलाका प्रहरी कार्यालय बर्षौदेखि रानीपौवा धर्मशाला छ । थासाङको प्रहरी चौकी कोवाङ स्थानीयको घरमा भाँडामा बसेको छ । यस्तै, पर्यटक प्रहरी र जिल्ला ट्राफिक कार्यालय पनि संस्थागत र स्थानीयको घरमा भाँडामा बस्दै आईरहेको छ । मुस्ताङका प्रहरी ईकाईको भौतिक सरचना कमजोर र दयनीय अवस्थामा रहेकाले यसको बिकल्प सरकारले गर्नुपर्ने देखिएको हो । यसका अलवा प्रहरीलाई कार्यसम्पादन र व्यवस्थापनमा चाहिने अतिआवश्यकीय सामाग्री समेत उपलब्ध नहुँदा प्रहरीको दैनिकी निकै कष्ठकर बन्ने गरेको पाईएको छ ।

मुस्ताङको थासाङ—३ घाँसामा दुई वर्ष अघि प्रहरीको आफ्नै भवन बनेको छ । स्थानीयले जग्गादान गरेपछि प्रहरीको आफ्नै भवन बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । तर जिल्ला प्रहरी कार्यालयको भने भब्य भौतिक सरचना तैयार भईसकेको छ । सीमा प्रहरी चौकी लोमान्थाङ पनि केही वर्षअघि मुस्ताङी राजाको घरमा बसेको थियो । अहिले त्यहाँ प्रहरीको आफ्नै भवन बनेको छ । मुकाममा रहेको प्रहरी मुख्यालयको पनि केही वर्षअघि जीर्ण माटोले बनेको एकतले भवनमा थियो । भवन बनेपनि दैनिक कार्यसम्पादन तथा थुनुवा व्यवस्थापनमा निकै सहज हुन पुगेको छ ।

रासन र स्थानीय भत्ता कटौती हुँदा प्रहरी जनशक्ति न्यून
मुस्ताङमा प्रहरीको पर्याप्त दरबन्दी रहेपनि न्यून संख्यामा मात्र प्रहरीले सेवा सञ्चालन गरेको पाईएको छ । मुस्ताङमा प्रहरीको आवश्यक जनशक्ति नहुँदा कार्यसम्पादनमा समेत निकै अप्ठ्यारो पर्दैआईरहेको छ । मुस्ताङमा प्रहरीको ३ सय ११ जनाको दरबन्दी रहेपनि अहिले जम्मा १ सय ८१ जना प्रहरी मात्र कार्यसम्पादनमा खटिएका छन् ।छोनुप प्रहरी चौकीमा असईको दरबन्दीमा हवल्दार,ईलाका प्रहरी कार्यालय छोसेरमा सईको दरबन्दीमा हवल्दार,सुर्खाङ प्रहरी चौकीमा असईको दरबन्दीमा हवल्दार ,मुक्तिनाथ प्रहरी चौकीमा प्रहरी निरीक्षकको दरबन्दीमा असई आदीले कमाण्ड गरेको पाईएको छ ।

मुस्ताङको भौगोलिक बिकटता,प्रहरीलाई चाहिने रासन र भत्ता लगायतका सुविधा कटौती हुँदा प्रहरी व्यवस्थापनमा समस्या पर्दैआईरहेको छ ।यसका अलवा मुस्ताङमा खटाईका प्रहरी सोर्सफोर्सका आधारमा मुस्ताङ आउन नचाहदा मुस्ताङमा दरबन्दी अनुसार प्रहरीको सख्या अपुग भएको हो ।अहिलेको अवस्थामा दुर्गम जिल्लामा खटाईएका प्रहरीलाई रासन भत्ता ९ हजार ३ सय छ । सुगम भन्दा दुर्गममा खटिने प्रहरीको रासन भत्ता ३ हजार १ सय रुपिया बढी छ ।प्रहरीको दुर्गम स्थानीय भत्ता २४ सय देखि ५६ सयसम्म छ । यसअघि प्रहरीको रासन भत्ता १६ हजार थियो भने स्थानीय दुर्गम भत्ता न्युनतम ७ हजार ५ सय रुपैया थियो ।रासन र स्थानीय भत्तामा मासिक करिव १३ हजार रुपैया कटौता हुँदा मुस्ताङमा प्रहरी सख्या अपुग हुन पुगेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *