पोखरामा फागुन ६ गतेदेखि केबलकार सञ्चालनमा आउँदै

आदर्श अनलाइन, पोखरा

पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केबलकार सञ्चालनमा आउने भएको छ ।पोखराको पर्यटकीय स्थल फेवातालको किनार भागबाट अर्को पर्यटकीय स्थल सराङकोटलाई जोड्ने गरी निर्माण भएको अन्नपूर्ण केबलकार फागुन ६ गतेबाट सञ्चालनमा आउन लागेको हो ।

पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको केबलकार फागुन ६ गते सफ्ट ओपनिङ गरी व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन लागिएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले बताउनुभयो ।

‘ फेवा किनारबाट साहसिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय,सूर्यास्तसँगै हिमशृङ्खला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई जोड्ने गरी हामीले निर्माण गरेको केबलकार अव सञ्चालनमा आउने पक्का भएको छ’, निर्देशक त्रिपाठीले भन्नुभयो, ‘ कोभिड महामारीका कारण सिर्जित विविध समस्याका कारण हामीले पटक पटक घोषणा गरेको सञ्चालन मिति सर्दै आएको भए पनि अब ६ गतेलाई भने फिक्स भएको छ ।’

दुई/तीन पटक सम्म सञ्चालन मिति तोकिए पनि विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ सङ्क्रमणका कारण निर्माण सामग्रीको आयातमा तथा विदेशी प्राविधिकहरूको आवतजावतमा समस्या उत्पन्न हुँदा केबलकार सञ्चालनमा ल्याउन नसकिएको त्रिपाठीको भनाई छ ।

‘पछिल्लो पटक अंग्रेजी नयाँ वर्षमा शुरु गर्ने भनेका थियौ, जेनेरेटर इन्स्टलेसनको काम नसकिएकाले केही समय पछि धकेलियो’, निर्देशक त्रिपाठीले भन्नुभयो, ‘ त्यसपछि कोरोनाका कारण प्रशासनले जारी गरेको निर्देशनका कारण समेत सञ्चालन मिति अझै पछाडि सरेको हो, लामो समयदेखि पोखरामा केबलकारलाई कुरेर बस्नुभएका पोखरेली तथा पर्यटक महानुभाव प्रति हामी क्षमा माग्दै अव प्रतीक्षाको घडी सकिएको जानकारी गराउन चाहन्छौ ।’

शुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि निर्माण गर्दै जाँदा हाल दुई अर्ब रुपैयाँ लागत पुगेको त्रिपाठीले बताउनुभयो । केबलकारको माथिल्लो स्टेसनमा निर्माण गरिएको भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप तथा अतिरिक्त जग्गा खरिदले गर्दा लागत मूल्य बढेको उहाँको भनाई छ । ‘हामीले पछिल्लो क्रममा केबलकारको रुटमा पर्ने निजी आबादीको २० रोपनी भन्दा बढी जग्गा खरिद गर्‍यौ, त्योसँगै केबलकारसँग जोडेर विविध भौतिक संरचनाहरू निर्माण गर्‍यौ जसले लागत धेरै बढायो’, त्रिपाठीले भन्नुभयो ।

केबलकारको दुई हजार ४०० मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिने त्रिपाठीले बताउनुभयो । केबलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गण्डोला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गण्डोला जडान गरिएको छ । केबलकारमा ३५ वटा यात्रु बोक्ने गण्डोला जडान गर्न सकिने उल्लेख गर्दै निर्देशक त्रिपाठीले पर्यटकको माग र चाप अनुसार गण्डोला थप गर्दै लगिने बताउनुभयो ।

केबलकारमा यसअघि टिकटको मूल्य नेपाली पर्यटकलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ, एसियनलाई ७ सय र अन्य मुलुकका पर्यटकलाई ८ सय रुपैयाँ निर्धारण गरिएको भए पनि त्यसमा थोरै परिमार्जन गरी सार्वजनिक गरिने निर्देशक त्रिपाठीले बताउनुभयो। केबलकार सञ्चालनमा आएसँगै तत्कालका लागि २५ जनाले रोजगारी पाउने भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *