गण्डकी रत्न सम्मान ‘महावीर पुन’ लाई

आदर्श अनलाइन, पोखरा
एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ विजेता महावीर पुनलाई गण्डकी प्रदेश सरकारले गण्डकी रत्न सम्मान प्रदान गर्ने भएको छ । गण्डकी रत्न प्रदेशकै सर्वाधिक ठूलो सरकारी सम्मान हो ।

प्रदेश दिवसको अवसर पारेर फागुन ४ गते सरकारले उक्त घोषणा गरेको हो । गण्डकी सरकारले विभिन्न क्षेत्रमा उल्लेख योगदान गर्ने प्रदेशका अगुवा व्यक्तित्वलाई ‘गण्डकी रत्न’ पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

हालै पारित कार्यविधिमा प्रदेशभित्र शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, विज्ञान, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि, समाजसेवा लगायतमा क्षेत्रमा उल्लेख्य योगदान गरी प्रदेशको गरिमा बढाउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यविधिमा उल्लेख छ ।

डा. पुन संसारभरका नेपालीमाझ एक नेपाली शिक्षक, युवा वैज्ञानिक, आविष्कारक तथा सामाजिक अभियन्ताका रुपमा परिचित छन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री प्राप्त गरेपछि म्याग्दीका पुन नेपालको शैक्षिक तथा आर्थिक विकासको लागि नमूना शिक्षा प्रदान गर्ने स्कूल स्थापना गर्ने साहस र महत्वाकांक्षी लक्ष्य लिएर नेपालको आफ्नै जन्म गाउँ नाङ्गी फर्किएका थिए ।

वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल महावीर त्रिभुवन विश्वविद्यालयभित्र रहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुन् ।

जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेका छ । यो केन्द्रबाट उनी नयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन प्रेरित गर्दै निःशुल्क अध्ययन, अनुसन्धानको वातावरणसमेत मिलाउँदै आएका छन् ।

रोमन म्यागासेसे अवार्ड’ सहित ‘इन्टरनेट हल अफ फेम’, ‘समग्र सामाजिक नवीनता पुरस्कार’, जस्ता महत्त्वपूर्ण सम्मान प्राप्त पुनलाई नेपालको विज्ञान र अनुसन्धानमा उल्लेखनीय योगदान गरेको भन्दै अमेरिकाको नेब्रास्का विश्वविद्यालयले मानार्थ ‘डाक्टर’समेत दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *