मुस्ताङको होटलमा मृत भेटिए अमेरिकन नागरिक

आदर्श अनलाइन, मुस्ताङ

मुस्ताङमा भिसा अवधि सकिएर लुकिछिपी बस्दै आएका ५१ वर्षीय अमेरिकन नागरिक जेवई एल पेरीको आइतबार साँझ मृत्यु भएको छ । उनको बारागुङ मुक्तिक्षेत्र—४ कागबेनीस्थित होटल रेड हाउसमा कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

अमेरिका स्थित क्यालिफोर्नियाका नागरिक जेवई एल पेरीको पार्सपोर्ट नम्बर ५२२४५१२७० छ । उनी सन् २०१९ को नोभेम्बर ५ तारिखमा १५ दिनको भिसा अनुमती लिएर नेपाल प्रवेश गरेका थिए । हेर्दा सामान्य नागरिक जस्ता देखिने उनले ४ पटकसम्म नेपालमा बस्न भिसा अवधि नविकरण गर्दै आइरहेका थिए । उनले सुरुवाती भिसा अवधि सकिएपछि क्रमशः ४५ दिन ,१८ दिन र अन्तिममा ६० दिनको भिसा अवधि थप गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

थपिएको अन्तिम भिसा अवधि म्याद पनि सन् २०२० को मार्च १८ मा सकिएको थियो । उनले ४ पटकमा ४ महिना १३ दिनको भिसा अनुमती लिएर नेपालमा बस्दै आएका थिए ।त्यसपछि उनले भिसा अवधि थप नगरी लुकीछिपी नेपाल बस्दै आइरहेको खुलेको छ ।

अमेरिकन नागरिक जेवई एल पेरी सन् २०२१ को डिसेम्बर १० तारिखमा मुस्ताङ प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए । उनी २ महिना ११ दिन मुस्ताङमा बसेका प्रहरी निरीक्षक अधिकारीले बताए ।प्रहरीका अनुसार मुस्ताङ प्रबेश गरेका अ‍ेमेरिकन नागरिक जेवई एल पेरी सन् २०२१ डिसेम्बर १५ तारिखमा मुस्ताङको घरपझोङ—३ पुथाङ एयरपोर्ट स्थित एक्याप चेक पोष्टमा इन्ट्री भएको पाइएको छ ।

त्यसपछि उनी वारागुङ मुक्तिक्षेत्र आसपास बस्दै आईरहेका थिए । तर उनी उपल्लो मुस्ताङ प्रवेश नगरेको बताइएको छ । उपल्लो मुस्ताङ जान विदेशी नागरिकलाई अध्यागमन विभागबाट ५ डलर रोयल्टी तिर्नु पर्ने हुन्छ । अमेरिकन नागरिक जेवई एल पेरी पटक/पटक भिसा अवधि थप्दै र भिसा अवधि सकिएर पनि किन नेपालमा लुकीछिपी बस्दै आए भन्ने रहस्य खुल्न सकेको छैन ।उनी एक्लै लामो समयदेखि नेपाल बस्दै आइरहेको पाइएको छ ।

पर्यटनकर्मी त्रिपल पी गुरुङले सञ्चालन गरेको कागबेनीस्थित होटल रेड हाउसमा कोठाको दैनिक ५ सय रुपैयाँ तिर्ने गरी बस्दै आइरहेको होटलका कर्मचारी रमेश श्रेष्ठले जानकारी दिए । होटलमा बस्ने तर खाना भने आफैले पकाएर खाने गर्दैआइरहेका अमेरिकन नागरिक जेवई एल पेरीले एक महिनादेखि होटलमा कोठाको भाडा समेत नबुझाएको होटल कर्मचारी श्रेष्ठको भनाइ छ ।

अमेरिकन नागरिक जेवई एल पेरी कोठामा सुतिरहेको अवस्थामा मृत्य भएपछि होटलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।प्रहरीका अनुसार उनको शव जिल्ला अस्पतालमा शव गृहमा राखिएको छ । प्रहरी निरीक्षक आशिष अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

उनका अनुसार विदेशी नागरिक मृत्यु भएको सूचना प्रहरी प्रधान कार्यालयको वैदेशिक महाशाखामार्फत काठमाडौंस्थित अमेरिकन दूतावासलाई आवश्यक कानुनी प्रक्रियाका लागि पत्राचार गर्न अनुरोध गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *