आदर्श अनलाइन, जोमसोम
जिल्ला अस्पताल मुस्ताङको व्यवस्थापन समितिको नेतृत्व परिवर्तन भएको छ । जिल्ला अस्पताल व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले घरपझोङ—३ मार्फाकी कमला लालचनलाई आगामी ३ वर्षीय कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए ।
जिल्ला अस्पताल मुस्ताङले पुरानो व्यवस्थापन समितिको ३ बर्षीय कार्यकाल पुरा भई ९ सदस्यीय नया ब्यवस्थापन समिति गठन गरेको हो । जसअन्तर्गत अस्पताल ब्यवस्थापन समितिमा घरपझोङ गाउपालिका अध्यक्ष आशबहादुर थकाली,मुस्ताङ उद्योग वाणिज्य संघका प्रतिनिधि,बिमला तुलाचन,गोबिन्दबहादुर बिक,जैकला बिक,सुकुन रसाईली र दुरेन्द्र गौचन सदस्य छन् ।
यस्तै,अस्पताल ब्यवस्थापन समितिको सदस्य सचिवमा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. विशाल तिवारी रहेका छन् । यस अघि मुस्ताङ जिल्ला अस्पतालको ब्यवस्थापन समितिको अध्यक्षमा पूर्व संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ थिए ।
नव गठित अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष कमला लालचनले अस्पतालको बृहत्तर विकासका लागि आफ्नो टिमले काम गर्ने प्रतिवद्धता जनाईन् । उनले स्वास्थ्य जस्तो संम्वेदनशील क्षेत्रमा सबै नागरिकको पहुच पू¥याउन आफ्नो पहल भईरहने बताईन् ।
’विगतको तुलनामा अस्पतालले केही फड्को मारेको छ ,त्यस माथि अस्पताललाई चाहिने श्रोतसाधन र जनशक्ति परिपूर्ती गर्ने तर्फ ध्यान दिईने नव गठित अध्यक्ष लालचनले उल्लेख गरिन् । ‘दुर्गम जिल्ला हो, यहा न्यूनतम आवश्यक श्रोत साधन नहुदा यहाका बिरामी जिल्ला बाहिर लैजानु पर्ने परिस्थिती छ ,उनले भनीन‘ सामान्य अपरेशन,ल्याब सुविधा र प्रसुती सेवालाई प्रभावकारी बनाएर लैजाने योजनामा छौ ।’
उनले अस्पताल ब्यवस्थापन गर्ने टिमको परिकल्पनाले मात्रै जिल्ला अस्पतालको भबिष्य र गन्तब्य तय हुने भएकाले सबै क्षेत्रको सहयोग पाउने अपेक्षा गरिन् ।