आदर्श अनलाइन, म्याग्दी
शिवरात्री पर्वमा बेनी नगरपालिका वडा नम्बर ९ गलेश्वर मन्दिरमा ३ लाख ५३ हजार ८७ रुपैयाँ भेटी संकलन भएको छ । महाशिवरात्रि पर्वको अवसरमा मंगलबार गलेश्वरधाममा दर्शन र पुजाआजा गर्न आएका भक्तजनहरुले चढाएको भेटिबाट सो रकम संकलित भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिईन ।
मन्दिरमा भक्तजनले चढाएको भेटि बुधबार कोषका पदाधिकारी, प्रहरी र जनप्रतिनिधिको रोहबरमा गनिएको थियो । प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा महाशिवरात्रीको पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि म्याग्दीका ग्रामिण भेगसंगै छिमेकी जिल्ला बागलुङ, पर्वत पोखरा लगायतका ठाउँबाट ३० हजार जना भन्दा बढी भक्तजन आएका थिए ।
मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वरधाममा हिन्दु धर्मावलम्वीहरुको साझा तिर्थस्थल मानिन्छ । गलेश्वरधामको दर्शन र पुजाआजा गरेमा सुख, शान्ति र समृद्धि हुने जनविश्वास रहदै आएको छ ।