काठेखोलामा एमालेको आक्रामक चुनावी अभियान


आदर्श अनलाइन, बागलुङ

स्थानीय तहको निर्वाचन नजिकिदै जादा राजनीतिक दलहरु चुनावी अभियानमा सक्रिय बन्न थालेका छन् । आगामी बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा आफ्नो दलका उमेदवारलाई विजयी गराउन राजनीतिक दलहरुले गाउँ गाउँमा अभियान सञ्चालन गर्न थालेका हुन् ।

चुनावी अभियानकै क्रममा नेकपा एमाले काठेखोला गाउँपालिका बागलुङले पार्टी गतिविधिलाई आक्रामक रुपमा अगाडि बढाएको छ । अन्य राजनीतिक दलहरुमा रहेका कार्यकर्तालाई एमालेमा समाहित गराउने तथा आम समुदायलाई पार्टीको पक्षमा लाग्न आव्हान गर्दै सबै वडाका टोल टोलमा कार्यक्रम शुरु भएको एमालेले जनाएको छ ।

पार्टी प्रचारलाई थप प्रभावकारी बनाउनका लागि काठेखोला गाउँपालिका वडा नं. २ अक्षेते बजारमा बिहीवार सम्पर्क कार्यालय सञ्चालन गरिएको छ । सम्पर्क कार्यालयको एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले शुभारम्भ गर्नु भएको थियो । सम्पर्क कार्यालयमार्फत ८ वटै वडामा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाइने एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्कीले बताउनु भयो ।

बिहीवार नै नेकपा माओवादी केन्द्र धम्जाको वडा कमिटि एमालेमा समाहित भएको छ । माओवादी केन्द्रले जनभावना विपरित काम गरेको भन्दै वडा कमिटिले निर्णय नै गरेर एमालेमा समाहित भएको अध्यक्ष देवेन्द्र खत्रीले जानकारी दिनुभयो । खत्रीले वडा कमिटिको वैठक पुस्तिका एमाले काठेखोला–३ का इन्चार्ज खुम भण्डारीलाई हस्तान्तरण गर्नु भएको छ ।

यसभन्दा अगाडि काठेखोला वडा नं. ५ र ६ मा माओवादी केन्द्रका वडा कमिटि सहित १ सय ८५ जना नेता कार्यकर्ता एमालेमा समाहित भइसकेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा लगायतका दल छोडेर एमालेमा आउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको एमालेको दावी छ ।
नेकपा एमाले केन्द्रीय कमिटिको निर्देशनमा सञ्चालन भएको पार्टी प्रवेश तथा घर फर्क अभियान अन्तरगत अन्य पार्टी र विगतमा एमालेमै रहेर अन्यत्र अलमलिएकाहरुलाई एमालेमा समाहित बनाउने अभियान प्रभावकारी बन्दै गएको एमाले नेताहरुको भनाइ छ ।

काठेखोलामा आगामी निर्वाचनमा सहज जित हासिल गर्ने गरी पार्टीका गतिविधि अगाडि बढेको र जनताको समर्थन बढ्दै गएको एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्कीले जानकारी दिनुभयो । गाउँपालिका कमिटिले पार्टीका उपल्लो कमिटिका नेताहरुलाई अतिथि बनाएर सबै वडाका टोल टोलमा प्रचार अभियान सञ्चालन गर्ने गरी अगाडि बढेको छ ।

गाउँपालिका कमिटिको बिहीवार सम्पन्न सचिवालय वैठकले सबै वडामा जनवर्गीय संगठन निर्माणका लागि जिम्मेवारी तोकेर अभियान सञ्चालन गर्न निर्देशन गरेको एमाले काठेखोलाका सचिव विद्यापती शर्माले जानकारी दिनुभयो । वैठकले वडा नंं ८ का बेल बहादुर जिसी, वडा नं. ७ बाट मेक बहादुर जिसी र याम बहादुर कार्की, वडा नं. ६ बाट डिल बहादुर विक, वडा नं. ५ बाट प्रेम पुन र हेम बहादुर क्षत्री, वडा नं. ४ बाट आशिष थापा, वडा नं. ३ बाट दिपेन्द्र खत्री र दल बहादुर थापा, वडा नं. २ बाट चन्द्र मणी उपाध्यायलाई सचिवालयमा मनोनयन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *