तिनचुले सहकारीका शेयर सदस्यलाई वित्तीय साक्षरता तालिम


रोहन जि.सी.बागलुङ

सहकारीमा आवद्ध भएका शेयर सदस्यहरुलाई आयआर्जन र वचत लगायतका विषयमा सचेत बनाउने उद्देश्यका साथ तिनचुले बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका–३, धम्जाले २ दिने सहकारी प्रशिक्षण सम्पन्न गरेको छ ।

सहकारीका सदस्यहरुलाई स्थानीय स्रोतको अधिकतम परिचालनमार्फत आयआर्जन बढाउन, खर्च घटाउन तथा नियमित वचत गर्न प्रेरित गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष खीम बहादुर छन्त्यालले जानकारी दिनुभयो ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि शेयर सदस्यहरुलाई सहकारी सचेतना आवश्यक रहेको बताउनुभयो । सहकारीहरुले वित्तीय साक्षरताका विषयमा सदस्यहरुलाई जानकारी गराउन सकेमा सदस्यहरुलाई आयआर्जन बढाउन तथा खर्च घटाएर बढी वचत गर्ने बानीको विकास गर्न सकिने जिसीको भनाइ थियो ।

सदस्य लगायत आम समुदायलाई चाहना र आवश्यकताको पहिचान गराउने गरी वित्तीय साक्षरता, सदस्यहरुको काम कर्तव्य र अधिकार लगायतका विषयमा सबै सहकारीले जानकारी गराउनु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कुल बहादुर वि.क, काठेखोला गाउँपालिका वडा नं. ३ का वडा सदस्य खुम बहादुर भण्डारी, हिमचुली कृषि सहकारी संस्थाका अध्यक्ष प्रेम श्रीस लगायतले सहकारीका सदस्यहरुलाई प्रदान गरिने सहकारी शिक्षाले संस्थालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष खिम बहादुर छन्त्यालको अध्यक्षता, उपाध्यक्ष टोप बहादुर जिसीको स्वागत र प्रवन्धक भिमलाल आलेको सञ्चालनमा सम्पन्न भएको थियो । दुईदिनसम्म सञ्चालित तालिमको पहिलो दिन ८० जना र दोस्रो दिन ७० जनाको सहभागिता रहेको थियो । सदस्यहरुको क्रमसंख्याका आधारमा पहिलो र दोस्रो दिन सदस्यहरुलाई सहभागिता गराइएको थियो ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *